आज भोटो देखाउने जात्रा, उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं, ११ जेठ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज भोटो देखाउने जात्रा मनाइँदै छ । सबैभन्दा लामो जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत ललितपुरको जावलाखेलमा भोटो देखाउन लागिएको हो ।


राष्ट्रपतिको उपस्थितिमा अपराह्न ५ बजे भोटो देखाइने जनाइएको छ । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ ।
यससँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगेपछि जात्रा समापन हुनेछ । वैशाख शुक्ल प्रतिपदामा सुरू भएर आषाढ शुक्ल चतुर्थीसम्म रातो मच्छिन्द्रनाथको रथयात्रा चल्छ।
यस अवसरमा आज काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा पनि दिइएको छ ।
Comments
