नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा, १४ फरार
काठमाडौं, ११ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा नेपाल सरकारका पूर्वमन्त्री, बहालवाला सचिव, पूर्वसभासदसहित ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा चारवटा अभियोगमा मुद्दा दायर भएको छ ।


एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायत ३० जनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको हो ।
सरकारी वकिल कार्यालय, काठमाडौंले अदालतमा अभियोग पत्र दर्ता गरेको हो । आरोपितहरुमाथि ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित प्रतिकुल कामका लागि संगठित अपराध गरेको आरोप छ । उनीहरुमाथि यी सबै कसूर एकीकृत रुपमा गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले त्यसै अनुसार सजाय मागदाबी गरेको छ ।
आरोपितहरुमध्ये १६ जना पक्राउ परिसकेका छन् भने १४ जना अझै फरार छन् ।
Comments
