आइपिएलको प्लेअफ समीकरण पूरा
मुम्बई प्लेअफमा पुग्दा बैङ्गलोर बाहिरियोकाठमाडौं, ८ जेठ । भारतमा जारी इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको प्लेअफ समीकरण पूरा भएको छ । गएरातिको खेलसँगै आइपिएलको समूह चरण पनि सकिएको छ ।


हिजो दिउँसो भएको पहिलो खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादमाथि शानदार जीत निकाल्दै प्लेअफको सम्भावना बलियो बनाएको थियो । हैदराबादले दिएको २०१ रनको लक्ष्य मुम्बईले केवल २ विकेट मात्र गुमाएर पूरा गर्यो ।
मुम्बईका लागि क्यामरन ग्रीनले शानदार शतकीय पारी खेलेका थिए । ४७ बल खेलेका उनले ८ चौका र ८ छक्का प्रहार गरेका थिए । मुम्बईले यस जीत निकाल्दा प्लेअफमा छनौट हुन बैङ्गलोर पराजित हुनुपर्ने थियो ।
त्यसपछि बेलुका भएको खेलमा साविक विजेता गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैङ्गलोरमाथि जीत निकालेपछि मुम्बई प्लेअफमा पुगेको हो । बैङ्गलोरले दिएको १९८ रनको लक्ष्य गुजरातले ४ विकेटको क्षतिमा पूरा गर्यो ।
गुजरातको जीतमा शुभमन गिलले शतक प्रहार गरे । ५२ बल खेलेका उनले ५ चौका र ८ छक्का प्रहार गरेका थिए । उनी म्यान अफ द म्याच पनि चुनिएका थिए ।
त्यसअघि पहिलो इनिङमा विराट कोहलीले पनि शतक प्रहार गर्दै टोलीको प्लेअफ आशा जीवितै राखेका थिए । उनको १०१ रनको मद्दतमा बैङ्गलोरले १९७ रनको योगफल खडा गरेको थियो ।
प्लेअफ समीकरण:
अब पहिलो क्वालिफायरमा पहिलो र दोस्रो स्थानमा रहेका क्रमशः गुजरात टाइटन्स र चेन्नई सुपर किङ्स खेल्ने छन् । विजेता टोली सिधै फाइनल प्रवेश गर्ने छ भने पराजित टोलीले अझै एक मौका पाउने छ ।
त्यसपछि इलिमिनेटरमा तेस्रो र चौथो स्थानमा लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्स खेल्ने छन् । विजेता टोलीले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग खेल्ने छ र उक्त खेल जित्ने टोली फाइनलमा पुग्ने छ ।
फाइनल खेल मे २८ मा अहमदाबादमा हुने छ ।
Comments
