नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री रामबहादुर थापाविरुद्ध अभियोग दर्ता नहुने
काठमाडौं ३ जेठ। नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व गृहमन्त्री रामबहादुर थापा सहित ४ जनाविरुद्ध अभियोग दर्ता नहुने भएको छ।
प्रहरीले आरोपितले नाम लिएका र प्रमाण समेत भेटिएको भएपनि उनिहरुलाई प्रतिवादी नबनाउने बुझिएको छ। पूर्वगृहमन्त्री थापाको नाम मुछिए पनि उनीविरुद्ध अभियोग दर्ता नहुने स्रोतले जनाएको छ। तर पक्राउ परेका आरोपितले बयानमा थापालाई रकम नै दिएको बयान दिएको बुझिएको छ। अर्का आरोपी इन्द्रजित राईको मोबाइलबाट समेत थापा संलग्न रहेको प्रमाण फेला परेको स्रोतले बताएको छ।
यसैगरी प्रेम राई, पूर्व गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मञ्जु खाँण र आरजु राणाको नाम पनि बाहीर हल्लामा आएको तर अभियोग दर्ता नहुनेमा रहेको छ। बिचौलियाले उनिहरुलाई समेत रकम दिएको दाबी गरेका थिए।
यो प्रकरणमा बिचौलियाहरु केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर राई र सन्देश शर्मालाई पक्राउ गरिएको छ। यसैगरी पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे,पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका निजी सचिव नरेन्द्र केसी सहित १४ जना पक्राउ परेका छन्।
पूर्व सांसद आङटावा शेर्पा र दुई बिचौलिया रामशरण केसी अनी गोविन्द चौधरी पनि प्रहरी हिरासतमा छन्। उनीहरुलाई काठमाडौ प्रहरीका विभिन्न ६ वटा हिरासतमा राखिएको छ।

