घरको सटरलाई पेट्रोल पम्प बनाउने कोतः धुकु आयल स्टोरमा सिल

काठमाडौं, १४ वैशाख । घरको सटरबाटै पेट्रोल बेचेको र स्थानियलाई असर पुगेको भन्दै काठमाडौं महानगरपालिकाले बालाजु स्थित कोतः धुकु आयल स्टोरमा सिल गरेको छ।

मापदण्ड विपरीतको पेट्रोल पम्पमाथि कारबाही गर्नेक्रममा विहीवार उक्त पम्प सिल गरिएको हो। महानगरपालिकाले नेपाल आयल निगमसँग समेत उक्त पम्पका बारेमा प्रश्न सोधेको थियो। निगमले समेत पेट्रोलियम पदार्थ विक्री गर्न उक्त पम्पको मापदण्ड नपुगेको जनाएको थियो।

महानगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले उक्त पम्प घरकै सटरमा चलेको र राजनीतिक पहुँच देखाएर अटेर गरेका कारण सिल गरिएको जनाए। पम्प घरको सटरबाट सञ्चालनमा थियो । यसलाई जाली र फलामे साङ्गलोले बेरेर ताला लगाई सिल गरिएको छ ।

नेपाल आयल निगमका अनुसार ‘पेट्रोलियम पदार्थ विक्रेता नियमावली २०७५ (प्रथम संशोधनसहित)’ को मापदण्ड नपुगेका कारण तत्काल स्थानान्तरण गर्नुपर्ने १६ वटा पम्पको सूचीमा यो पनि थियो । ती पम्पहरुका कारण सवारी साधन तथा पैदल यात्रुको आवागमनमा समस्या परेको छ । ट्राफिक व्यवस्थापनलाई असहज बनाएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय