बहराइनलाई हराएसँगै युएई एसिसी प्रिमियर कपकाे सेमिफाइनलमा

काठमाडाैं, १३ वैशाख । युएई एसिसी प्रिमियर कपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । बुधबार भएकाे खेलमा बहराइनलाई हराएसँगै युएईले सेमिफाइनलमा स्थान बनाएकाे हाे ।
युएईले बहराइनलाई ८ विकेटले हरायाे । बहराइनले दिएकाे ११७ रनकाे लक्ष्य युएईले २७.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्याे ।
युएईकाे जीतमा वृत्या अरविन्द र राेहन मुस्तफाले अर्धशतक प्रहार गरे । वृत्या ६२ तथा मुस्तफा ५० रनमा अविजित रहे । बहराइनका अब्दुल माजिदले २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे बहराइनले ४०.५ ओभरमा अलआउट हुँदै ११६ रन मात्र बनाएकाे थियाे । बहराइनलाई सस्तैमा राेक्न युएईका आयान अफजल खानले घातक बलिङ गरेका थिए ।
खानले १० ओभरमा ६ रन मात्र दिएर ४ विकेट लिएका थिए । त्यस्तै राेहन मुस्तफा र कार्तिक मेइयप्पनले २-२ तथा जाहुर खानले १ विकेट लिए ।

