चितवन २ बाट रवि लामिछाने भारी मतका साथ विजयी
प्रतिक भट्ट
चितवन, १२ वैशाख । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । रविले ५४ हजार २७४ मत पाए ।
उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २५१ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्याैपानेले १० हजार ९३५ मत पाए । रविले पहिलेभन्दा करिब पाँच हजार मत बढी ल्याएका हुन् ।
मतगणना नसकिँदै जीत सुनिश्चित भएपछि रविलाइ जीतनारायणले बधाइ दिँदै पुराना दलहरु अब सच्चिनुपर्ने प्रतिक्रिया दिएका थिए । ‘मैले परिणामलाई स्वीकार गरेको छु । म अझै जनताका काम गर्दै अघि बढ्ने छु’, उनले भने, ‘म रविजीलाई बधाई दिन आएको हुँ। उहाँलाई बधाइ छ ।’
यसैबीच लामिछानेले पत्रकारहरुसँग कुरा गर्दै अहिलेकाे सरकारलाई समर्थन गर्नुपर्ने कुनै कारण नभएकाे बताए । सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने उनकाे भनाइ थियाे ।

