साथीले बोकेको बन्दुक पड्कँदा घलेको ज्यान गयो
रासस
नुवाकोट, ११ वैशाख । नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङको जङ्गलमा सिकार गर्न गएका पञ्च घलेको साथीले बोकेको बन्दुक पड्किएर लागेको गोलीले मृत्यु भएको छ । शनिबार राति जङ्गलमा सिकार गर्न गएका ३० वर्षीय घलेको सोही स्थानका अमृत तामाङले बोकेका भरुवा बन्दुक पड्केर गोली लाग्दा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार किम्ताङको जङ्गलमा अमृतले बोकेको बन्दुक उनी लड्ने क्रममा पड्कँदा उनको पछाडि रहेका घलेको छातीमा गोली लागी मृत्यु भएको हो ।
घटनापछि शव र बन्दुक बोकेर अमृत तामाङ तीन घण्टाको पैदल दूरीमा रहेको प्रहरी चौकी किम्ताङमा आइपुगेका थिए । ‘साथी–साथी एकापसमा मिलेर भरुवा जङ्गलमा सिकार गर्न गएको समयमा अमृतले बोकेको बन्दुक पड्कँदा पञ्चको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ, गोली लागेका पञ्च घले घाइते भएमा उपचार गर्न मिल्छ भनेर अमृतले चौकीसम्म बोकेर ल्याएको र घटनामा आफूले बोकेको बन्दुकको गोली लाग्न पुगेको स्वीकार गरेका छन्’, प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेका अमृतलाई ज्यानसम्बन्धी कसुर (हत्या) र हातहतियार तथा खरखजानासम्बन्धीको अभियोगमा कारबाही गर्ने नुवाकोट प्रहरीले जनाएको छ ।

