चितवन २ मा रातिदेखि नै गणना सुरु गर्ने तयारी

काठमाडौं, १० वैशाख । तीन जिल्लामा आइतबार प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन सम्पन्न भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार तीनवटै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।
मतदान सम्पन्न भएपछि मुचुल्का उठाएर र मतगणना केन्द्रमा मतपेटिका पुर्याउने काम भइरहेको छ । सकेसम्म सबै स्थानमा आजै रातिदेखि मतगणना सुरू गर्ने तयारी छ ।
चितवन–२ का विभिन्न स्थानबाट मतपेटिकाहरु भरतपुर १० स्थित कभर्डहलमा ल्याउने क्रम जारी छ । मतपेटिका ल्याएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने छ ।
त्यसैगरी बारा–२ मा राति नभए विहान ८ बजेदेखि मतगणना सुरू हुने जनाइएको छ भने तनहुँ–१ मा पनि गणनास्थलमा मतपेटिका पुर्याउन केही समय लाग्ने भएकाले सहमति भएमा राति १२ बजे भए पनि मतगणना सुरू गराइने छ ।
यसपटक मंसिर ४ को निर्वाचन भन्दा मतगणना सजिलो र छिटो पनि हुने छ । ढिलोमा पनि मङ्गलबारसम्म सबै परिणाम आइसक्ने जनाइएको छ ।

