राष्ट्रबैंकद्धारा तीन सरकारी सहित ९ वाणिज्य बैंकलाई कारबाही

१५ करोड जरिवाना

काठमाडौं, ९ बैशाख । नेपाल राष्ट्र बैंकले तीन सरकारी बाणिज्य बैंक सहित ९ बाणिज्य बैंकलााई नगद जरिवाना सहित कारबाही गरेको छ। राष्ट्रबैक र बैंक तथा बित्तीय नियम र मापदण्ड पुरा नगरेको भन्दै राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक र कृषि बिकास बैंक सहित निजि क्षेत्रका बैंकलाई नगद जरिवाना गरेको हो।

ती बैंकलाई राष्ट्रबैंकले १५ करोड ४७ लाख ८४ हजार १४० रुपैयाँ २६ पैसा नगद जरिवाना गरेको छ । जस अनुसार कृषि विकास बैकले ६९ लाख ५८ हजार ८सय ३१ रुपैयाँ ८९ पैसा जरिवाना तिर्नुपर्नेछ भने राष्ट्रिय वाणिज्य बैंक १० लाख रुपैयाँ र नेपाल बैंक १८ लाख ५९ हजार ७ सय ५२ रुपैयाँ ३८ पैसा जरिवानामा परेको छ ।

यसैगरी हिमालयन बैंक ७१ लाख ७२ हजार ९ सय ५९ रुपैयाँ ३६ पैसा जरिवानामा परेको छ । राष्ट्रबैंक स्रोतका अनुसार कृषि विकास बैंक र हिमालयन बैंक कर्जा /निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको आधारमा कारबाहीमा परेका हुन् भने राष्ट्रिय वाणिज्य बैंक सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा राष्ट्र बैंकको कारबाही सूचिमा परेको हो ।

त्यसैगरी हाल प्रभू बैंकसँग मर्जरमा गएको तत्कालीन सेन्चुरी बैंकलाई २०७९ साउन र भदौ महिनामा कर्जा/निक्षेप (सीडी रेसियो) कायम नगरेको भन्दै राष्ट्रबैंकले २ करोड ८४ लाख ७ सय ३२ रुपैयाँ ८६ पैसा जरिवाना गरेको छ । नबिल बैंक ६ करोड ४६ लाख ४५ हजार ३२ रुपैयाँ ७४ पैसा जरिवानामा परेको छ ।

२०७९ भदौ र असोज दुई महिनाको कर्जा–निक्षेप अनुपात कायम नगर्ने ग्लोबल आईएमई बैंकलाई पनि केन्द्रीय बैंकले ४ करोड ४२ लाख ४६ हजार ८३१ रुपैयाँ ३ पैसा जरिवाना गरेको छ ।

यसैगरी आफ्नो अख्तियारी भन्दा बाहिर गएर कर्जा स्वीकृत गर्ने प्रमुख कार्यकारी अधिकृत रहेको तत्कालिन नेपाल क्रेडिट एण्ड कमर्स बैंकलाई केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (ग) बमोजिम ५ लाख रुपैयाँ जरिवाना गरिएको जनाएको छ ।

यता सहुलियतपूर्ण कर्जा प्रवाहमा औचित्य पुष्टि नहुने क्षेत्रमा कर्जा दिने, कतिपय मुद्दती निक्षेपमा प्रकाशित ब्याजदरभन्दा बढी ब्याजदर प्रदान गर्ने तथा कर्जाको जोखिमभार मेन्टेन नगर्ने कुमारी बैंकलाई भने प्रथम पटक सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय