रातो मच्छिन्द्रनाथको रथारोहण, रथयात्रा सोमबारदेखि

काठमाडौं, ८ बैशाख । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ । तर,रथयात्रा भने आगामी सोमबारदेखि हुनेछ ।
वैशाख शुक्ल प्रतिपदाको दिन पारेर मच्छिन्द्रनाथको रथारोहण गरिएको हो । चैत्र २४ गते शुक्रबार मच्छिन्द्रनाथको महास्नान गराइसकेपछी चैत्र २५ गतेदेखि रथ निर्माण सुरु गरिएको थियो।
रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको सबैभन्दा लामो जात्रा हो । रथलाई जात्रा अवधिभर ललितपुरको विभिन्न टोलटोलमा घुमाइन्छ । यो रथयात्रा असार शुक्ल चौथीसम्म झन्डै दुई महिनासम्म मनाइन्छ ।
हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीले पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्ने गर्छन् । बैशाख ११ गते सोमबार देखि मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुँदैछ।

