आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडौं, ७ वैशाख । आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आमा औंसी मनाइँदैछ ।
प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गरी मनाइने यो पर्वलाईं आमाको मुख हेर्ने दिन वा आमा खुवाउने औंसी पनि भनिन्छ ।
पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्रीका अनुसार यस दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहीआएको छ । आमा नभएकाहरुले भने श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् ।
हुन त आमालाई सम्मान गर्न कुनै विशेष दिन कुर्नु पर्दैन । तर, हाम्रो सांस्कृतिक परम्पराअनुसार आज नै आमाको मुख हेर्ने र सम्मान व्यक्त गर्ने विशेष दिन हो ।
यस अवसरमा काठमाडौंको मातातीर्थमा मेला लाग्ने गरेको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा आज सार्वजनिक बिदा पनि दिएको छ ।

