एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, मलेसिया पराजित

काठमाडौं, ५ वैशाख । काठमाडाैंमा आजदेखि सुरु भएकाे एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो ।

मलेसियाले दिएको २३६ रनको विजयी लक्ष्य नेपालले ८२ बल बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि भीम सार्कीले ७१ रनको योगदान दिए भने कुशल मल्ल ७० रनमा अविजित रहे ।

त्यसैगरी कप्तान रोहित पौडेलले ४२ तथा कुशल भुर्तेलले ३८ रन बनाएर आउट भए । मलेसियाका मोहम्मद वफिक, रिजवान हेदर, विजय उन्नी र विरानदीप सिंहले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेकाे मलेसियाले नेपाललाई २३६ रनकाे मध्यम विजयी लक्ष्य प्रस्तुत गरेकाे थियो । मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनायाे ।

उसका लागि कप्ताज अहमद फैजले ७६ रनकाे याेगदान दिए भने विरानदीप सिंहले ४६ रन बनाए । नेपालका साेमपाल कामी र सन्दीप लामिछानेले ३-३ विकेट लिए भने ललित राजवंशीले २ तथा गुल्शन झाले १ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय