आइपिएलमा पन्जाबले लखनउलाई २ विकेटले हरायो

काठमाडौं, ३ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा पन्जाब किङ्सले आफ्नो तेस्रो जीत हासिल गरेको छ । पन्जाबले लखनउ सुपर जायन्ट्सलाई २ विकेटले हराएको हो।
लखनउले दिएको १६० रनको लक्ष्य पन्जाबले ३ बल बाँकी छँदा ८ विकेट गुमाएर लक्ष्य भेट्टायो । अन्तिम ओभरमा पन्जाबलाई जीतका लागि ७ रन चाहिएको थियो भने २ विकेट मात्र बाँकी थियो । शमहरुख खानले २, २ रन र चौका प्रहार गर्दै पन्जाबलाई जिताए । उनी १० बलमा २३ रन बनाएर अविजित रहे ।
पन्जाबका लागि त्यसअघि जिम्बावेका स्टार अलराउन्डर सिकन्दर राजाले ५७ रनको अर्धशतकीय पारी खेलेर जीतको आधार तय गरेका थिए । त्यस्तै म्याथिउ शर्टले ३४ रन बनाए । लखनउका युद्धविर सिंह, मार्क वूड र रवि विश्नोइले २-२ तथा क्रुनाल पान्ड्या र कृष्णप्पा गौतमले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो । उसका लागि कप्तान केएल राहुलले ७४ रन बनाए भने काइल मेयर्सले २९ रन बनाए । पन्जाबका साम करानले ३ विकेट हात पार्दा कगिसो रबाडाले २ तथा अर्शदीप सिंह, सिकन्दर राजा र हरप्रीत ब्रारले १-१ विकेट लिए ।
यस जीतसँगै पन्जाब ५ खेलमा ६ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ भने लखनउ समान खेलमा समान अंकसहित नेट रनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ ।

