सरकारका सय दिन: सात पटक मन्त्रीपरिषद विस्तार, गठबन्धन बनाउने र भत्काउने मात्रै !

काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  नेतृत्वको सरकारले भर्खरै आफ्नो १०० दिनको ‘हनिमुन’ पिरीयड पार गरेको छ ।

पुस १० गते प्रधानमन्त्री नियुक्त हुँदा कांग्रेससँगको गठबन्धन तोडेर बालकोट पुगेका प्रचण्डले विश्वासको मत लिए लगत्तै बोली फेर्दै राष्ट्रपति निर्वाचनसम्म पुग्दा बोली होइन व्यबहार र गठबन्धन नै फेरिदिए । उनले एमालेसँगको छोटो गठबन्धन तोड्दै पुनः मंसिर ४ अगाडिको गठबन्धन ब्युताए।

कुरै कुरामा एमालेसँग ‘ब्याज’ लिनै बाँकी छ भन्दै प्रधानमन्त्री प्रचण्ड काङ्ग्रेस समेत ११ दलको गठबन्धन बनाउन सफल भए । तर, उनको गठबन्धन भ्यागुतोको धार्नी जस्तै भइरहेको छ। एउटा ल्याउदा अर्को फुत्किने र अर्कोलाई समात्दा झन अर्को ठुस्सिने भइरहेको छ।

राष्ट्रपति निर्वाचनमा ११ दल एक ठाउँमा रहेको यो गठबन्धनबाट अहिले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टी बाहिरिएको छ। त्यसैगरी चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा र प्रभु साह नेतृत्वको आम जनता पार्टी समेत ठुस्सिएको छ।

प्रधानमन्त्री नियुक्त भएपछि ७ पटक मन्त्रीमन्डल पुनःगर्ठन गरेका प्रचण्डले अझै सरकारलाई पूर्णता दिन सकेका छैनन् । नेकपा एमाले,राप्रपा र रास्वपाले सरकार छाडेपछि लामो समय १६ वटा मन्त्रालय आफ्नै काधमा लिएका प्रचण्डसंग अझै ६ वटा मन्त्रालयको जिम्मेवारी छ।

सडकमा मिटरब्याजी पीडित,बैंक र लघुबित्त पीडितहरुको आन्दोलन चलिरहदा सदनमा प्रधानमन्त्री प्रचण्ड भने आफ्नो साँवा र ब्याजको कुरा गर्नमै व्यस्त देखिए । एमालेसँगको सहकार्य तोडेर कांग्रेससँग पुनःगठबन्धन गरेपछि दोस्रोपटक विश्वासको मत लिँदै गर्दा संसदको रोष्ट्रममै उभिएर प्रधानमन्त्री प्रचण्डले ब्याजका कुुरा उठाएका थिए । ‘म एमाले अध्यक्ष कमरेड केपी ओलीलाई आभार व्यक्त गर्न चाहन्छु । तपाईले मलाई प्रधानमन्त्री चाहिँ बनाउनु भएको हो । मैले तपाईलाई दुईपटक बनाएको थिए । तपाईले मलाई ब्याज तिर्नुपर्ने थियो तिर्नुभयो । तर हेक्का राख्नुस तपाईंले तिर्न अझै बाँकी छ।’

साँच्चै प्रधानमन्त्री प्रचण्डले कहिले यता र कहिले उता गरेर आफ्नो राजनीतिको हिसाबमा साँवा र ब्याज मिलाइछाडे। यो साँवा ब्याजको हिसाब मिलेपछी उनि पनि साँढे दुई बर्ष प्रधानमन्त्री हुनेगरी नाफामा गए । जनताको मतबाट पार्टी तेस्रो हुँदा पनि आफु प्रधानमन्त्री र अरु ५ मन्त्री पाउनु माओवादी पार्टी र स्वयं प्रचण्डका निम्ति अप्रत्याशित फाईदाकै ब्यापार हो।

यो १०० दिनमा आफुले गठबन्धन अदल–बदल गर्ने कुरालाई ‘परिस्थिती’ ठान्ने प्रधानमन्त्री  प्रचण्ड जनताका पिरमर्कामा भन्दा सत्ता टिक्ने कि नटिक्ने आफ्नै व्यथामा रुमलिएको देखियो । प्रधानमन्त्रीको कुर्सी हत्याउने र त्यसलाई जसरी पनि बचाउने कुरालाई ‘म बाध्य भएँ’ वा ‘मलाई परिस्थिति’ आईपर्यो भन्न सक्ने प्रचण्ड शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन र सत्यनिरुपण गर्ने कुरामा चाहिँ कहिल्यै बाध्य भएको देखिएन ।

विकास र समृद्धिका ठुला गर्न नछाड्ने तर बिकासको नाममा कुनै मुर्त योजना र ठोस कार्ययोजना बनाउन उनले सकेको देखिएन । गठबन्धन बनाउन र भत्काउन जस्तै विकास पनि गर्न सक्नुपर्ने हो । सत्ता जोड घटाउ गरे जस्तै देशको अर्थतन्त्रको हिसाब पनि मिलाउनुपर्ने हो तर त्यो देखिएन ।

प्रधानमन्त्रीले बितेको १०० दिनमा बालकोटदेखि बालुवाटार,धुम्बाराहीदेखि खुमलटार चक्कर लगाउँदा र पाँच दलीय गठबन्धन फुटाएर ७ दलिय अनि ७ दलीयलाई फुटाएर ११ दलिय बनाउँदा गरेको जत्तिकै मेहनत जनताको लागि गर्नुभयो कि भएन ? यो समिक्षा गर्नैपर्छ । सरकारले १०० दिनमा गरेका ३७ उपलब्धि सार्बजनिक गरिरहँदा प्रधानमन्त्रीले चुनावको समयमा जनतासामु गरेका बाचा बिर्सेर सरकार गठन,बिस्वासको मत, फेरि विश्‍वासको मत र फेरि सरकार विस्तारमै अल्झेको कुरालाई नकार्न सकिन्न ।

प्रधानमन्त्रीको १०० दिनको प्रगति विवरण हेर्दा कांग्रेससँगको गठबन्धन छाड्दै एमालेसँग र एमालेसँगको गठबन्धन छाड्दै कांग्रेससँग पुग्नु र चुनाव अघिको ५ दलिय गठबन्धनलाई ११ दलिय बनाउनु नै मुख्य उपलब्धि जस्तो देखियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय