बागमती सफाइका क्रममा अमेरिकी पेस्तोल भेटीयो

काठमाडौं, २ वैशाख । बाग्मती नदी सरसफाइ गर्ने क्रममा शनिबार पेस्तोल भेटिएको छ । सफाइका क्रममा रहेका व्यक्तिले नदीमा अमेरिकी कम्पनीको पेस्तोल फेला पारेका थिए ।
बागमती सभ्यता एकीकृत विकास समितिले शनिवार गौशालादेखि सुरु गरेको बागमती सफाइको क्रममा तिलगंगाको शारदा स्कुल नजिक सो पेस्तोल फेला परेको हो ।
सफाइमा संलग्न चुरे संरक्षण तथा पर्यटन प्रवर्द्धन फाउन्डेसन मधेस प्रदेशका अध्यक्ष विष्णु साहका अनुसार पेस्तोल एउटा झोलामा पोको पारेर नदी फ्यालिएको थियो ।
सफाइ गर्ने क्रममा झोलासहितको सो पेस्तोल फेला परेको साहले बताए । पेस्तोल फेला परेपछि तत्कालै प्रहरीलाई खबर गरिएको र गौशाला प्रहरीले मुचुल्का तयार पारी भेटिएको पेस्तोल लगेको उनले बताए ।

