हेम्जा आलु महोत्सवमा एकै दिन १० टन आलु बिक्री

पोखरा, २ वैशाख । पोखराको हेम्जामा जारी राष्ट्रिय हेम्जा आलु महोत्सव अन्तर्गत शुक्रबारसम्म ४० टन आलुको कारोबार भएको छ । त्यहाँ प्रतिकिलो रु.३५ मा आलु बिक्री हुँदै आएको छ।

आलु किन्नकै लागि कास्कीका विभिन्न स्थान लगायत छिमेकी जिल्ला स्याङजा, पर्वत, बाग्लुङ, म्याग्दी, तनहुँ लगायतका ठाउँबाट समेत मानिसहरु महोत्सव स्थल आउने गरेका छन् ।

वापानीका कारण अन्य स्थानको भन्दा हेमजामा फलेको आलु स्वादिष्ट रहेको, विषादीको कम प्रयोग हुने भएको तथा छिटो छरितो पाक्ने हुनाले हेमजामा उत्पादित आलु ग्राहकको रोजाईमा पर्ने गरेको कृषक परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सीनाले जानकारी दिए।

महोत्सवमा विहीवार एकैदिन १० टन बढी आलुको कारोवार भएको थियो।जसअनुसार कुल ३ सय ५० जनाले विभिन्न परिणाममा आलु किनेर लगेका छन् ।हालसम्म एक जनाले न्यूनतम १० केजीदेखि अधिकत्तम पाँच सय केजीसम्म आलु किनेर लगेको संयोजक तिमिल्सीनाले बताए।

महोत्सव अन्तर्गत शुक्रवार अर्थात नववर्षको दिन लोकदोहोरीतर्फ बद्री पगेनी, माया गुरुङ, कमला सुनार, सुभद्रा श्रेष्ठ र सन्तोष सुवेदी, पपतर्फ अस्मिता अधिकारी, सुनिल गायक, गगन गुरुङ र यम नेपालीका प्रस्तुतिहरु दिएका थिए।

महोत्सव अन्तर्गत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम रहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय