आइपिएलमा हैदराबादको लगातार दोस्रो जीत

काठमाडौं, २ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदराबादले जीत हासिल गरेको छ । हैदराबादले कोलकाता नाइट राइडर्सलाई २३ रनले पराजित गरेको हो ।

हैदराबादले दिएको २२९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले पूरा २० ओभरमा ७ विकेट गुमाएर २०५ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा ३२ रन चाहिएको अवस्थामा क्रिजमा रिंकु सिंह भएपनि यसपटक भने कुनै चमत्कार भएन ।

कोलकाताका लागि कप्तान नितिश रानाले ७५ रनको योगदान दिँदा रिंकु सिंहले अविजित ५८ रन बनाए । हैदराबादका मार्को यान्सेन र मयंक मार्कन्डेले २-२ विकेट लिँदा भुवनेश्‍वर कुमार, टी नटराजन र उमरान मलिकले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२८ रन बनाएको थियो । उसका लागि ह्‍यारी ब्रुकले अविजित रहँदै १०० रन बनाए भने कप्तान एइडेन मार्क्रमले ५० रन बनाए । कोलकाताका आन्द्रे रसलले ३ तथा वरुण चक्रवर्तीले १ विकेट लिएका थिए ।

यस जीतसँगै ४ खेलबाट ४ अंक जोडेको हैदराबाद सातौं स्थानमा रहेको छ भने पराजित कोलकाताको समान खेलबाट समान अंक भएपनि नेट रनरेटका आधारमा चौथो स्थानमा रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...