पाँच महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम

चितवन, १ वैशाख । देशका अन्य पालिकाभन्दा भौतिक पूर्वाधारमा अग्रणी देखिएको भरतपुर महानगरको बेरूजु निकै कम रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६० औं प्रतिवेदनमा छवटा महानगरमा सबभन्दा कम बेरूजु भरतपुरको रहेको उल्लेख छ।
अघिल्लो आर्थिक वर्षमा पनि भरतपुर महानगरको बेरूजु अन्य महानगर पालिकाको भन्दा कम रहेको थियो । आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदनमा भरतपुरको बेरूजु शून्य दशमलव ०८ प्रतिशत रहेको छ ।
पेश्कीबाहेकको यो बेरूजु सबभन्दा बढी वीरगन्जको सात दशमलव ९४ प्रतिशत, काठमाडौंको एक दशमलव ४५ प्रतिशत, विराटनगरको तीन दशमलव ५८ प्रतिशत, ललितपुरको दुई दशमलव २२ प्रतिशत र पोखराको पाँच प्रतिशत रहेको छ। पेश्कीबाहेक बेरूजुमा अघिल्लो वर्ष भरतपुरको शून्य दशमलव २५ प्रतिशत रहेको थियो।
लेखा परीक्षणको तुलनामा बेरूजु प्रतिशत भरतपुरको शून्य दशमलव ०९ प्रतिशत छ भने सबभन्दा बढी वीरगन्जको नौ दशमलव १२ प्रतिशत रहेको छ। त्यस्तै, विराटनगरको तीन दशमलव ९२, काठमाडौंको दुई दशमलव ६०, ललितपुरको सात दशमलव ०४ र पोखराको पाँच दशमलव ५४ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७७/७८ मा भरतपुरको बेरूजु शून्य दशमलव ५६ प्रतिशत रहेको थियो।
सो आर्थिक वर्षमा पनि भरतपुरको बेरूजु सबभन्दा कम थियो। त्यस वर्ष विराटनगरको सबभन्दा बढी १७ दशमलव ५७ प्रतिशत, वीरगन्जको नौ दशमलव ८० प्रतिशत, ललितपुरको आठ दशमलव ०६ प्रतिशत, काठमाडौंको पाँच दशमलव ४० प्रतिशत र पोखराको ५ दशमलब ३५ प्रतिशत रहेको थियो।
प्रतिवेदनमा उल्लेख भएअनुसार बेरूजुमध्ये पेश्कीसहितको बेरूजु रकम विराटनगरको रु २२ करोड ९५ लाख, वीरगन्जको रु ६७ करोड ७८ लाख, काठमाडौंको रु ६६ करोड १९ लाख, ललितपुरको रु ६१ करोड ९० लाख तथा पोखराको रु ७० करोड ६५ लाख छ भने भरतपुरको रु ६६ लाख मात्र छ।
गत वर्ष विराटनगर महानगरपालिकाको लेखा परीक्षणको रकम रु पाँच अर्ब ८५ करोड ३३ लाख, वीरगञ्जको रु सात अर्ब ४३ करोड ४९ लाख, काठमाडौँको रु २५ अर्ब ४१ करोड ८८ लाख, ललितपुरको रु आठ अर्ब ७९ करोड ७९ लाख, भरतपुरको रु छ अर्ब ९६ करोड २६ लाख र पोखराको रु १२ अर्ब ७४ करोड ७५ लाख रहेको थियो।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पछिल्ला हरेक वर्षमा महानगरपालिकाको बेरूजु कम हुँदै गएको बताइन् । ऐन, नियम र मापदण्डको पूर्णपालना गरिएको, उपभोक्ता समितिलाई पेश्की दिने कार्यमा कडाइ गरिएको र बेरूजु फर्छ्यौटमा विशेष जोड दिएकै कारण अन्य महानगरपालिकाभन्दा भरतपुरको बेरूजु निकै कम भएको उनले बताइन्।
गतिशील, पारदर्शी एवं स्वच्छ नेतृत्व र लेखा समितिको क्रियाशीलताका कारण न्यून बेरूजु आएको दाहालले जानकारी दिइन्। भरतपुर महानगरपालिकाले बेरूजु फर्छ्यौटका लागि अभियान नै सञ्चालन गरिरहेको उनको भनाइ थियो। जसको लागि सम्पर्क व्यक्ति तोकी बेरूजु फर्छ्यौटको काम गर्दै आइएको छ।
आगामी दिनमा बेरूजु फर्छ्यौट केन्द्र स्थापना गरी अगाडि बढ्ने महानगरपालिका प्रमुख दाहालले बताइन् । विगत आर्थिक वर्षको सबै बेरूजुलाई फर्छ्यौट गर्दै जाने महानगरपालिकाले जनाएको छ। उनले भनिन्, ‘जवाफदेहिता, पारदर्शिता र आर्थिक मितव्ययितामा हामी प्रतिबद्ध छौं।’
महानगरले तहगतरूपमा बलियो अनुगमन संयन्त्र बनाएको र मापदण्ड कार्यविधिको पूर्णपालना गरेको प्रमुख दाहालको भनाइ छ।

