आइपिएलमा अर्को ‘थ्रिलर’: पन्जाबमाथि गुजरातको जीत

काठमाडौं, १ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटन्सले जीत हासिल गरेको छ । गुजरातले पन्जाब किङ्सलाई ६ विकेटले पराजित गरेको हो ।
पन्जाबले दिएको १५४ रनको लक्ष्य पछ्याएको गुजरातले १ बल बाँकी छँदा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । अन्तिम ओभरमा जीतका लागि ७ रन चाहिएकोमा सेट ब्याटर शुभमन गिल आउट भएपछि केही दबाबमा आएको थियो । २ बलमा ४ रन चाहिएको अवस्थामा राहुल तेवातियाले चौका प्रहार गरेका थिए ।
गुजरातका लागि ओपनर शुभमन गिलले सर्वाधिक ६७ रन बनाए भने ऋद्धिमान साहाले ३० रन बनाए । पन्जाबका लागि अर्शदीप सिंह, कगिसो रबाडा, हरप्रीत ब्रार र साम करानले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो । उसका लागि म्याथिउ शर्टले सर्वाधिक ३६ रन बनाए भने जितेश शर्माले २५ तथा साम करान र शाहरुख खानले समान २२ रन बनाए । गुजरातका मोहित शर्माले २ विकेट लिँदा राशिद खान, जोसुवा लिटिल, मोहम्मद शामी र अल्जारी जोसेफले १-१ विकेट लिएका थिए ।
यस जीतसँगै गुजरात ४ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ भने पन्जाब ४ खेलमा ४ अंकसहित छैटौं स्थानमा रहेको छ ।

