आहा ! बडीमालिका; घुमौं आफ्नै देश (तस्वीरहरु)
पुष्कर नेपालसुन्दर ठाउँको बारेमा कसैबाट सुन्नु, टाढाबाट देख्नु र आफैंले भोग्नु वा त्यसको मज्जा लिनु नितान्त फरक कुरा हो । त्यसमाथि पनि नजिक पुगेर स्पर्श सहितको अनुभव लिनु झन अचम्म र आनन्दको कुरा हुने नै भयो ।
मेरो लागि बडीमालिका ठ्याक्कै त्यस्तै भयो । ओहो ! त्यो सुनेको बडीमालिका र भोगेको बडीमालिका !! कसरी वर्णन गर्ने खै ? शब्दमा बर्णन गर्दा मानसपटलमा त्यहाँका मनोरम दृश्य र प्राकृतिक शुन्दरताले अहिले नै उडेर त्यहीँ पुगौं र कहिल्यै नफर्कने गरि तिनै पाखा पखेरासँग मितेरी लगाएर बसौं जस्तो भइदिन्छ।
जे वरदान मागे पनि पूरा हुन्छ भन्ने विश्वासले देशका विभिन्न ठाउँबाट बडीमालिका माताको दर्शन गर्न जानेहरु र प्रकृतिको सामीप्यमा रमाउने हरुको लागि ‘स्वर्ग’ हो बडीमालिका ।

धार्मिक आस्थाको केन्द्र बडीमालिकामा प्रत्येक वर्ष जनैपूर्णिमाका दिन विशेष पूजा हुने रहेछ। जनैपूर्णिमालाई लक्षित गरेर बडीमालिका जानेहरू त्यो दिनमा बडीमालीकाको चुचुरोमा पुगिसकेका हुने रहेछन् । तर, हामीले त्यो अवसर पाएनौं । किनभने हाम्रो यात्रा त्यो समयमा थिएन । तर, बडीमालिका जानेहरु अरुबेला पनि भेटिने रहेछन् ।
सामुद्रिक सतहबाट चार हजार दुई सय १६ मिटर उचाईमा रहेको बडीमालिका पुग्न कम्तीमा ३ दिनको पैदल यात्रा छिचोल्दै जानुपर्ने हुन्छ। अर्को कुरा पानी परोस् वा हुरिबतास र असिना झरोस् या जाडो र हिउँको वर्षात् नै होस् यो ठाउँमा जानेले ती सबै कुरामा मनोरञ्जन लिएरै फर्किने छन् ।
झन्डै १४ हजार फीट उचाईमा रहेको बडीमालिकाको यात्रालाई कुनैपनि हिसाबले सहज र सरल मान्न सकिन्न । यो कष्टकर यात्रा मानिन्छ । तर, बडीमालिकाको डाँडामा पुगिसकेपछि यात्राका सबै कष्ट र पीडा भुलिसकिन्छ।
यसको पौराणिक कथा अनुसार वा स्कन्दपुराणमा उल्लेख भएअनुसार दक्षप्रजापतिको यज्ञमा भगवान महादेवकी अर्धाङ्गीनी सतीदेवी होमिएर देह त्याग गरिसकेपछि महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर हिँड्दा मल्लागीरी पर्वतमा सत्यदेवीको एक अंग पतन भएर मालिकादेवी उत्पत्ति भएको र पछि मालिकादेवी शक्तिपीठ बडीमालिकाका रुपमा स्थापित भएको पाइन्छ ।

बादलभन्दा माथि उचाइमा रहेको बडीमालिकामा पुगेपछि आकाशमा उड्नु पर्ने चील समेत म भन्दा तलबाट उडेको देख्छु वा आकाश र म बराबर दुरीमा छौं झैं लाग्दछ। माथि ठाडो हेर्दैमा टोपी खस्ने भीर छ । त्यही भीरमा भारी बोकेर उकालो लाग्दै गरेका मान्छेहरुको लस्कर देख्दा झन् रहरलाग्दो देखिन्छ । सिमसिमे झरी होस् या मुसलधारे पानी, त्यसैमा कठ्याङ्ग्रिदो जाडो, केही परवाह हुँदैन । मात्रै मन आनन्दीत र मस्तिष्क स्वच्छ अनि शरीरमा बेग्लै स्फुर्ति बढेको महसुस हुनेछ।
धार्मिक आस्थाले मन प्रफुल्ल भएसँगै त्यहाँको प्राकृतिक सौन्दर्यताले तानेपछि आफैंलाई लाग्छ म कुन संसारमा छु वा ‘स्वर्ग कि धर्ती’ मा घुम्दैछु पत्तो हुँदैन । बडीमालिका पुग्ने बाटोको भीर यस्तो छ कि, बाटोमा एउटा खुट्टाको पाइला मात्र राम्ररी अटाउँछ। अर्को खुट्टाको समन्वय नमिले चिप्लेर खस्ने डर हुन्छ।
भीर अनि जंगलमा हराइने,उकालो ओरालोमा चिप्लीने र सम्म पाटनमा प्रकृतिसंगै खेल्न पाइने यो यात्रा सायद जिवनमा एकपटक गर्न सकिएन भने जिवनको सबैभन्दा रोमाञ्चक क्षण गुमाएको पछुतो हुनेछ ।

यसरी पुग्न सकिन्छ बडीमालिका
बडीमालिकाको सौन्दर्य नियाल्न त्यति सजिलो पक्कै छैन । काठमाडौंबाट हवाइ यात्रामा धनगढी जाने हो भने धनगढीबाट बसको यात्रा गर्नुपर्छ। त्यसपछि बडीमालिकाको त्रिवेणी हुँदै चौथो दिन बडीमालिका मन्दिर पुग्न सकिन्छ ।
बिचमा मार्तडी, घोडापाटन हुँदै अगाडि बढ्दा देखिने मनोरम दृश्य र प्राकृतिक शुन्दरताको वर्णन लेखेर गर्नै सकिन्न । यत्ति भन्न सकिन्छ ‘आहा त्यो पाटन ! आहा त्यो प्राकृतिक सुन्दरता !
बडीमालिकाको दर्शन पछि ओरालो झरेर फेरि नाट्यश्वरी मन्दिरमा पूजा अर्चना गरेपछि भाकल पूरा हुने जनविश्वास रहिआएको छ। बडीमालिकामाइको दर्शन गर्नाले मनले मागेको कुरा पुरा हुने धार्मिक विश्वास रहेको छ।
बाजुराको सुन्दरता भित्र पर्ने यो क्षेत्र धार्मिक महत्वको मात्र नभई प्राकृतिक सुन्दरताले समेत भरिपूर्ण छ। यहाँ एक सय ४० भन्दा बढी जातका फूल, एक सय ३० जातका जडीबुटी, ७० भन्दा बढी प्रकारका चरा, २२ वटा घाँसे मैदान, तीन वटा नदीको संगम रहेको पवित्र धाम त्रिवेणी र देशका दर्जनौं जिल्लाहरु सहित अपि हिमाल र सैपाल हिमाल अनि त्यसको बिचबाट देखिने कैलाश पर्वत सहितको अग्ला–अग्ला हिमश्रृङ्खला रहेका छन् । जसले त्यहाँ पुग्नेलाई मन्त्रमुग्ध पार्ने गर्दछन् ।
थप तस्वीरहरु:













