बिवादमा चलचित्र ‘नाई नभन्नु ल ६’
बैशाख १ मा प्रदर्शन नहुनेकाठमाडौं, चैत ३० । नेपाली कथानक चलचित्र ‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन रोकिएको छ । वैशाख १ गते नयाँ वर्षको दिन प्रदर्शन गर्ने भनिएको चलचित्र विवादमा परेपछि सेन्सर भएको छैन ।
यस अघि फिल्म ‘प्रसाद २’ पनि यस्तै लफडामा परेको थियो । आर्थिक लेनदेनको विवाद अदालतसम्म पुगेपछी प्रसाद २ रिलिजको अघिल्लो दिन प्रदर्शन रोक्न अदालतको आदेश थियो । त्यो चलचित्र अघिल्लो शुक्रबार रिलिज हुनुपर्ने थियो तर भएन । हाल उक्त चलचित्रको प्रदर्शन नरोक्न अर्को आदेश आएको छ । यद्यपि रिलिजको समय अनिश्चित छ।
यसैगरी ‘नाई नभन्नु ल ६’ को पनि विवाद उस्तै हो । यो पनि आर्थिक लेनदेनमा फसेको कारण सेन्सर नै हुन सकेन । यसको प्रदर्शन पनि पूर्वनिर्धारित मिति वैशाख १ गते नयाँ वर्षमा नहुने पक्का भएको छ।
निर्माण पक्षले समयमै सेन्सर पास गर्न नसक्दा प्रदर्शन रोकिएको वितरक मनोज राठीको भनाई छ। २०८० को सफल हुने चलचित्रमा यसलाई पनि राखिएको थियो। सेन्सरको लागि निवेदन दिएपनी निर्माण पक्षले हिसाब नमिलाएको भन्दै बिबादास्पद कुरा आएपछि सेन्सरमै अड्केको हो।
तर, निर्माण पक्षले अहिले सेन्सरका कारण संकट आएको भएपनि यो चलचित्रलाई वैशाखभित्रै प्रदर्शन गर्ने तयारी भइरहेको जनाइएको छ । फिल्मसँग सम्बन्धित एक निर्माताको आर्थिक लेनदेनलाई लिएर चलचित्र विकास बोर्डमा उजुरी परेपछि बोर्डले विवादका कारण सेन्सर सिफारिस नदिएको हो ।
‘प्रसाद–२’ को लफडा पनि यस्तै थियो । तर,प्रसाद २ लाई सेन्सरले प्रदर्शन अनुमति दिएपछि विवाद अदालत सम्म पुगेको थियो।
चलचित्र ‘नाई नभन्नु ल ६’ विकास आचार्य निर्देशित बहुप्रतिक्षीत फिल्म हो। उनका यसअघिका सबै चलचित्र सफल भएका छन्। चलचित्रमा आँचल शर्मा, आशिर्वाद क्षेत्री र अनुभव रेग्मी लगाएतको शीर्ष भूमिका रहेको छ ।

