आइपिएल क्रिकेट: चेन्नईले मुम्बईलाई हरायो

काठमाडौं, २६ चैत । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा चेन्नई सुपर किङ्सले सहज जित हासिल गरेको छ । चेन्नईले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको हो ।
मुम्बईले दिएको १५८ रनको लक्ष्य चेन्नईले ११ बल बाँकी छँदै ३ विकेटको क्षतिमा भेट्टायो । चेन्नईको जितमा अजिन्क्या रहानेले ६१ रन बनाए भने रुतुराज गायक्वाडले अविजित ४० रन बनाए । मुम्बईका लागि जेसन बेहरनडर्फ, पियूष चावला र कुमार कार्तिकेयाले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । उसका लागि इशान किशानले सर्वाधिक ३२ रन बनाउँदा टिम डेभिडले ३१ तथा तिलक वर्माले २२ र कप्तान रोहित शर्माले २१ रन बनाए ।
चेन्नईका लागि रविन्द्र जडेजाले ३ विकेट लिए भने तुषार देशपाण्डे र मिचेल सान्टनरले २-२ विकेट लिँदा सिसान्डा मगालाले १ विकेट हात पारे । यस जीतसँगै चेन्नईले ३ खेलबाट ४ अंक जोड्दै चौथो स्थानमा रहेको छ । यता मुम्बई भने लगातार दोस्रो खेलमा पराजित हुँदै अंकविहीन छ ।

