सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतभन्दा तल झर्ने

काठमाडौं, २४ चैत । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रबन्ध निर्देशकले विश्वका लगभग सबै विकसित अर्थतन्त्रमा जारी मन्दीका कारण यस वर्ष विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतभन्दा तल झर्ने चेतावनी दिएकी छन् ।

‘बढ्दो भूराजनीतिक तनाव र अझै पनि उच्च मुद्रास्फीतिको साथ, एक मजबूत सुधार असम्भव छ’, क्रिस्टालिना जर्जिएभाले अर्को हप्ता आईएमएफ र विश्व बैंकको वसन्त बैठकअघि तयार पारेको रिपोर्टबारे जानकारी दिँदै विशेष गरी सबैभन्दा कमजोर व्यक्ति र देशहरूका लागि आर्थिक वृद्धिको यो तथ्याङ्कले सबैको सम्भावनालाई हानी पुर्‍याउने बताइन् ।

रूसले युक्रेनमाथि गरेको आक्रमणको असरले विश्व अर्थतन्त्रमा तरङ्ग ल्याउँदा गत वर्ष विश्वको आर्थिक वृद्धिदर झण्डै आधा घटेर ३.४ प्रतिशतमा झरेको थियो ।

एसियाका उदीयमान बजारहरूले आर्थिक उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ । भारत र चीनले यस वर्षको सबै वृद्धिको आधा हिस्सा ओगट्ने अनुमान गरेका छन् । तर विश्वका ९० प्रतिशत विकसित अर्थव्यवस्थाहरूको लागि अपेक्षित मन्दीले आर्थिक वृद्धिको सुखद् खबरलाई पछि पार्ने देखिएको छ ।

आगामी आधा दशकमा विश्वको आर्थिक वृद्धिदर करिब तीन प्रतिशत रहने र यो सन् १९९० को दशकयताकै सबैभन्दा कम मध्यम अवधिको प्रक्षेपण रहेको जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय