सरकार हिँड्ने होइन दौडनुपर्छ– गगन

काठमाडौं, २२ चैत । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र मन्त्रीहरुले हिडेर होइन दौडेर काम देखाउनुपर्ने अवस्था औंल्याएका छन् ।

उनले वर्तमान सरकार कुर्सीमा अलमलिएको भन्दै अब उठेर हिड्ने मात्रै भन्दा पनि दौडिन सुझाब दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रीहरुको कामकारबाहीप्रति पनि असन्तुष्टि जनाउँदै महामन्त्री थापाले सरकारलाई हिँडेर कहीँ पुग्छु भन्ने छुट नभएकोले दौडिन आग्रह गरे।

‘यो सरकारसँग दौडिएर पुग्ने सुविधा मात्र छ’, बुधबार कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको महाधिवेशनमा महामन्त्री थापाले भने, ‘सरकार हिँडेको जस्तो त गरेको छ तर, दौडिन सुरु नै गरेन।’

महामन्त्री थापाले जनतामा भरोसा जगाउन सरकारले गति बढाउन ढिला भएको बताए।‘अझै पनि सरकारको अवस्था हेर्दा कुर्सी खोजेर बस्न खोजे जस्तो देखिन्छ’ उनले भने–‘अब ढिला नगरी दगुर्न सुरु गर्नुपर्यो अनि सरकारमा गति,लय र संकल्प छ भन्ने महसुस गराउनुपर्यो।’

उनले राष्ट्रपति, प्रधानमन्त्रीले अत्यावश्यकबाहेक खर्च कटौती सुरु गर्नुपर्नेमा समेत जोड दिए ।‘प्रधानमन्त्री र राष्ट्रपतिले भन्न सक्नुपर्छ, सचिवालयमा सल्लाहकार राख्ने सुविधा त दिएको छ, तर म ३ जना वा ५ जना मात्रै राख्छु’, थापाले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीले अत्यावश्यक बाहेक खर्च कटौती गरी विकास खर्च पहिलाभन्दा सुधार गर्छौं भनेर गयो भने मात्रै थोरै भएपनि सुधार आउँछ ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय