अस्ट्रेलियामा पनि टिकटक प्रतिबन्ध

नेपालमा कहिले ?
२२ चैत,काठमाडौ ।
चिनियाँ स्वामित्वको एप्लिकेसन ‘टिकटक’लाई अस्ट्रेलियाले पनि प्रतिबन्ध लगाएको छ।
यसअघि संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य र न्युजिल्यान्डले उक्त एप्लिकेसनविरुद्ध प्रतिबन्ध लगाइसकेका छन्।
अस्ट्रेलियाको सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेसन’ प्रतिबन्ध लगाइएको हो। देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले बताएका छन्। साथै उनले उक्त प्रतिबन्ध यथाशीघ्र कार्यान्वयन हुने पनि बताएका छन्।
युरोपेली संसद्, युरोपेली आयोग र २७ सदस्यीय युरोपेली सङ्घका तीन प्रमुख संस्थाले पनि आफ्ना कर्मचारीका उपकरणमा टिकटक निषेध गरेका छन्। ती संस्थाले कर्मचारीलाई आफ्ना मोबाइल फोनबाट टिकटक हटाउन आग्रह गरेको छ।
चिनियाँ प्राविधिक कम्पनी बाइटेन्सले आफ्नो स्वामित्वको टिकटकमा आबद्ध व्यक्तिका विवरण चीन सरकारलाई उपलब्ध नगर्ने जनाउँदै अमेरिकी प्रयोगकर्ताका विवरणलाई पनि चीनको पहुँच बाहिर राख्ने बताएको छ। अन्य सामाजिक सञ्जाल कम्पनीभन्दा धेरै प्रयोगकर्ताको विवरण सङ्कलन गरेको आरोपमा  टिकटकको मातृ कम्पनी विवादमा छ। यद्यपि उसले आफ्नो व्यवस्थापन स्वतन्त्र रहेको र टिकटकका विवरण सुरक्षित रहेको दाबी गरिरहेको छ।

गोपनीयता र सुरक्षा चिन्ता जनाउँदै भारतले सन् २०२०मा टिकटक र ‘मेसेजिङ एप वी च्याट’लगायत दर्जनौँ चिनियाँ एपमा राष्ट्रव्यापी प्रतिबन्ध लगाएको थियो। चीन र भारतबीचको सीमा क्षेत्रमा दुवै देशका सैनिक आमनेसामने भएपछि नयाँदिल्लीले उक्त निर्णय गरेको थियो। चिनियाँ र भारतीय सेनाबीचको भिडन्तमा २० जना भारतीय सैनिकले ज्यान गुमाएका थिए भने दर्जनौँ घाइते भएका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय