सप्तरीमा हारेका भ्रष्ट र मधेस विरोधीलाई मतदान नगर्नु–प्रभु साह
चैत २१, काठमाडौं।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गत मंसिरमा सप्तरीका जनताले हराइदिएका भ्रष्ट एवं मधेस विरोधीलाई उपनिर्वाचनमा मतदान नगर्न आग्रह गरेका छन्।
बारा २ बाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लक्षित अभिव्यक्ति दिदै उनले मधेसकै एउटा क्षेत्रका जनताले हराईदिएको ब्यक्तिले फेरी अर्को क्षेत्रका जनता ठग्न खोजेको आरोप समेत लगाए।
अध्यक्ष साहले उपेन्द्र यादवलाई जसरी पनि पराजित गर्नुपर्ने समेत बताए। बारामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष साहले बारा २ मा भ्रष्ट र मधेस विरोधीहरुले चुनाव लड्न खोजेको र त्यस्ता लुटेरालाई पराजित गर्नुपर्ने बिचार व्यक्त गरे। ‘सप्तरीमा नफलेको फल बारामा फल्दैन’ उनले भने-‘सप्तरीका जनताले नरुचाएको नेतालाई बाराका जनताले कसरी मतदान गर्छन?’
उनले छिमेकीको खेतमा नफलेको मकै हाम्रो खेतमा फल्दैन भन्दै नुन कहिल्यै पनि चिनी हुन नसक्ने समेत बताए।‘त्यस्ता भ्रष्ट र जनता विरोधीलाई मतदान गर्नुले केही हुँदैन’ उनले भने–‘हिजोका दिनमा वीरगञ्जलाई राजधानी बनाउने झुठो आश्वासन दिएको ब्यक्तिलाई भोट किन दिने ?’
उपेन्द्रले बारामा बन्ने भनिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, सिम्रौनगढ र गढीमाईको विकासका विषयमा कहिल्यै पनि एक शब्द नबोलेको समेत अध्यक्ष साहले आरोप लगाए। ‘बारा जिल्ला गौरबको जिल्ला हो । किसान आन्दोलन यही बारामा भएको थियो । हिजोका दिनमा अरुलाई अन्न दिएर पेट भर्ने जिल्ला अहिले आफै किन पछाडी पर्यो ?’ उनले भने–‘उपेन्द्र यादवको पार्टीले मधेसको मुख्यमन्त्रीको नेतृत्व गर्यो, केन्द्रमा पनि हरेक सरकारमा आफै मन्त्री भए, मधेसका लागि किन राम्रा काम गरेनन् ? मधेसको मानव विकास सूचांकलाई माथि पुर्याउने काम किन गरेनन् ?’

