काँग्रेसबाट अलग भएको स्वर्णिम वाग्लेको घोषणा

काठमाडौं, १६ चैत । अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली काँग्रेस छाडेको घोषणा गरेका छन् । बिहीबार अपरान्ह फेसबुक स्टाटस राख्दै उनले काँग्रेसबाट अलग भएको घोषणा गरेका हुन् ।
५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको बताउँदै स्वर्णिमले अब वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणमा लाग्नुपर्ने भन्दै २०८० सालको सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा देखिने बताएका छन् ।
‘अब कांग्रेस-कम्युनिष्टका असल मानिसहरु, दलमा आवद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ’ स्वर्णिमले लेखेका छन्, ‘सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु ।’
पछिल्ला वर्षहरुमा कांग्रेस पार्टीभित्रका गतिविधि नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शिर निहुरिने अवस्था आएको वाग्लेले उल्लेख गरेका छन् । ‘जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर र किसुनजीको ऐतिहासिक दल अहिले दाइ-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ’, उनले भनेका छन् ।
वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ बाट उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न प्रस्ताव पनि गरेको छ ।

