माओवादी नेता कुशवाहा जनमत पार्टीमा प्रवेश

काठमाडौं, १५ चैत्र । नेकपा (माओवादी केन्द्र) का नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् ।
कुशवाहालाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पार्टीमा स्वागत गरेका हुन् । माओवादी केन्द्रभित्र भएको अन्तरघातको कारणले आफूले थोरै मतले गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा हार व्यहोरेको उनको भनाई थियो ।
आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा बारा-२ मा माओवादीले आफ्नो पार्टीबाट उम्मेदवार नउठाएर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निणर्य गरेपछि आफू पार्टी परित्याग गर्न बाध्य भएको उनको स्पष्टोक्ति छ । ‘पार्टीभित्र जनतलाई अधिकार र जनवाद दिने कुरा जति भयो, त्यत्तिनै गुट र अन्तरघात भयो । त्यो अन्तरघातकै कारण मैले त्यहाँ चुनाव जित्न सकिनँ,’- उनले भने ।
जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत मधेशी जनताको मुक्तिका लागि नयाँ विचारसहित उदाएको उनको भनाई छ । सिके राउतको सम्मानस्वरुप उनलाई सप्तरीका जनताले विजयी गराएको उनले बताए । जनताले सप्तरीबाट हराएर पठाएका उपेन्द्रलाई बारा-२ बाट हराउनका लागि आफू जनमत पार्टीमा प्रवेश गरेको उनले बताए ।
माओवादीमा आफूमाथि षड्यन्त्र भएको भन्दै जनताको भावनाविपरित आफूलाई निर्वाचनमा सहभागी हुनबाट बञ्चित गराउन खोजिएको उनले आरोप लगाए।‘पार्टीभित्र ममाथि षड्यन्त्र र जालझेल भयो । हामीजस्तो क्षमतावानको कदर नगरेर पार्टीले अहिले उपेन्द्र यादवजीलाई नै समर्थन गरेर मलाई चुनावबाट बञ्चित गर्न खोजेको थियो, जनताको भावनापनि बञ्चित गरिएको छ । मैले स्वतन्त्रबाट लड्न खोजेको थिएँ तर, सो क्षेत्रका जनताले स्वतन्त्रबाट नलड्नु, कुनै पार्टी समात्नुस भनेपछि मैले जनताको भावनाअनुरुप जनमत पार्टी रोजें,’- उनले भने ।
सो कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो पार्टी जनताको उद्वारका लागि मात्रै नभएर अन्यायमा परेका नेताहरुको उद्वारका लागि बनेकोे दाबी गरेका छन् । माओवादीका कारण कुशवाहा पटक-पटक अन्याय र बहिष्करणमा परेको उनको भनाई छ । जनमत पार्टीले विभिन्न पार्टीमा रहेर विभिन्न आन्दोलनको नेतृत्व गरेका तर बहिस्करण र अन्यायमा परेका नेताहरुको सम्मान गर्दै आएको उनले स्मरण गराए ।
कुशवाहालाई पार्टीमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको भन्दै उनले बैशाख १० गते हुने बारा-२ को उपनिर्वाचनमा जितको अग्रिम शुभकामनासमेत दिए । बारा-२ मा षड्यन्त्र गरेर सिट खाली गराउने काम भएको उनको दाबी छ । ‘षड्यन्त्र गरेर कसैलाई चोर बाटोबाट संसद्मा पसाउनका लागि जालझेल रचियो । बारा-२ मा जवर्जस्ती सिट खाली गर्न लगाइयो । त्यहाँका जनताको जनमतको अपमान भयो । भोट दिएको तीन महिना नगुग्दै खाली गराउनु भनेको जनमतको घोर अपमान हो,’- उनले भने ।

