राप्रपाले उपनिर्वाचनमा एक्लै उम्मेदवारी दिने
काठमाडौ ।राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी बैशाख १० मा हुने उपनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने भएको छ।
सो पार्टीको सोमबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो। अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले आगामी बैशाख १० गते प्रतिनिधिसभाको उपनिर्वाचन हुन गइरहेको तनहुँ-१, चितवन-२ र बारा-२ मा राप्रपाले आफ्नो उमेदवार खडा गर्ने निर्णय गरेको प्रबक्ता मोहन श्रेष्ठले जानकारी दिए।
बैठकले निर्वाचन सम्पन्न गर्नका लागि परिचालन समिति समेत बनाएको छ। जस अनुसार बारा-२ मा वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङ, चितवन-२ मा वरिष्ठ नेता,उपाध्यक्ष विक्रम पाण्डे र तनहुँ-१ मा कोषाध्यक्ष निलकण्ठ काफ्लेलाई निर्वाचन कमान्डर तोकिएको छ।
त्यसैगरी बैठकले हालै सम्पन्न निर्वाचनपछि पार्टीको सांगठनिक अवस्था, राजनीतिक कार्यदिशाको समिक्षा र आगामी रणनीतिबारे बृहत छलफल गर्न आगामी बैशाख महिनाभित्र सातवटै प्रदेशमा अगुवा कार्यकर्ता भेला गर्ने निर्णय पनि गरेको छ।
सोही बैठकले आगामी बैशाखदेखि सक्रिय सदस्यता वितरण अभियानलाई तिव्रता दिने र ०८० भित्र पार्टीमा दुई लाख सक्रिय सदस्य बनाउने लक्ष्य निर्धारण गरिएको प्रबक्ता श्रेष्ठले बताए ।

