जसपामा अशोक राईसहित ५५० जनाको पद धरापमा !

काठमाडौं, ५ चैत । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले केन्द्रीय समिति सदस्यको संख्या घटाउने भएको छ । सो पार्टीले अशोक राई संयोजक रहेको संघीय परिषद पनि हटाउने भएको छ ।
यहि चैत २६, २७ र २८ गतेका लागि बोलाईएको विधान अधिवेशनमा सो प्रस्ताव लैजाने तयारी भएको पार्टी स्रोतले जनाएको छ । विधानको संशोधित मस्यौदामा १५१ सदस्यीय कार्य समितिको प्रस्ताव गरिएको छ ।
हाल जसपाको विधानमा ७०१ सदस्यीय कार्य समिति रहने भनिएको छ । विधान मस्यौदामा सो संख्या घटाएर १५१ कायम गर्ने प्रस्ताव गरिएपछि हाल केन्द्रिय समितिको ७०१ मध्य ५५० को पद धरापमा पर्ने निश्चित छ।
जसपा अध्यक्ष यादवको नेतृत्वमा गठन भएको विधान तयारी समितिले मस्यौदा अध्ययनका लागि मातहतका निकायलाई पठाइसकेको जनाएको छ । मस्यौदामा नेताहरुको उमेरसमेत निश्चित गरिएको छ । मस्यौदाअनुसार केन्द्रीय समितिमा ४० प्रतिशत युवा हुनुपर्ने प्रस्ताव गरिएको छ भने ७० वर्ष पुरा भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको पदाधिकारी वा सदस्यमा निर्वाचित हुन वा बस्न नपाउने व्यवस्था गरिएको छ ।
केन्द्रीय समितिको निर्वाचनमा कम्तीमा एक तिहाई महिलासहित नेपालको विविधता प्रतिविम्बित हुने गरी पार्टी सदस्य संख्याको अनुपातमा मधेसी, आदिवासी जनजाति, थारु, दलित, महिला, खस आर्य, मुस्लिम र अल्पसंख्यक समुदाय हुनुपर्ने र सामाजिक समूहहरुबाट ७० प्रतिशत र खुल्ला प्रतिस्पर्धाबाट ३० प्रतिशत केन्द्रीय सदस्यहरु निर्वाचित हुने मस्यौदामा उल्लेख छ ।
यसैगरी विधानबाट राष्ट्रिय समिति पनि हटाइने जसपाले जनाएको छ । हाल जसपामा मधेस, लिम्बुवान, किराँत, शेर्पालुङ, खसान, तमुवान, ताम्सालिङ, थारुवान, नेवा, मगरात र शिल्पी दलित राष्ट्रिय समिति रहेका छन् ।
त्यस्तै संघीय परिषद्को व्यवस्था पनि हटाउने प्रस्ताव गरिएको छ । हाल संघीय परिषद्को अध्यक्षमा अशोक राइ छन् । उनी पार्टीको संसदीय दलको नेता बन्न समेत पाएका छैनन् । उनी एमालेको बलमा सुनसरी १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।
बाराका सांसद रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भएका कारण सो क्षेत्रबाट अध्यक्ष उपेन्द्र यादव उम्मेदवार हुने तयारीमा छन् । यदी उपेन्द्र यहि क्षेत्रबाट निर्वाचित भएर संसद छिरे भने पार्टी संसदिय दलको नेता उनै हुनेछन् ।

