युएई ७१ रनमै अलआउट, नेपालको विशाल जीत

काठमाडौं, २८ फागुन । आईसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनी (पिएनजी) सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले विशाल जीत निकालेको छ ।

आइतबार भएको खेलमा नेपालले युएईलाई १७७ रनको फराकिलो अन्तरले हराएको हो । नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२ ओभर ५ बलमा ७१ रनमै समेटियो ।

युएईका लागि आयान अफजल खानले २९ तथा ‌अस्वन्थ भलथप्पाले १४ रन बनाए । कार्तिक मेइयाप्पन ११ रनमा अविजित रहे । अन्यले दोहोरो अंकमा रन बनाउनै सकेनन् ।

युएईको ब्याटिङ ध्वस्त पार्न नेपालका ललित राजवंशीले ७.५ ओभरमा २० रन दिएर ५ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिँदा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुल्शन झाले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.१ ओभरमा अलआउट हुँदै २४८ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ७७ रनको योगदान दिए भने आरिफ शेखले ४३, गुल्शन झाले ३७ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाएका थिए ।

युएईका लागि आयान अफजल खान, जाहूर खान, जवार फरिद र रोहन मुस्तफाले २-२ विकेट लिँदा आर्यन लकरा र जुनेद सिद्दिकीले १-१ विकेट लिए ।

युएई पछिल्लो समय खराब फर्ममा रहेको छ । यस जीतसँगै नेपालको एकदिवसीय मान्यता आगामी ४ वर्षका लागि जोगिएको छ ।

नेपालले अब आफ्नो तेस्रो खेलमा भोलि पिएनजीसँग खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय