क्रिकेट विश्वकप लिग २ मा आज नेपाल र युएई खेल्दै

काठमाडौं, २८ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनी (पिएनजी) सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले आज युएईसँग खेल्दै छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार विहान ९ बजेदेखि सुरु हुनेछ । खेलको कान्तिपुर र सिनेप्लेक्स च्यानलमा प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।
यसअघि बिहिबार भएको पहिलो खेलमा नेपालले पिएनजीलाई हराएको थियो भने युएई आफ्नो पहिलो खेलमा पिएनजीसँग पराजित भएको थियो ।
एकदिवसीय मान्यता जोगाउन युएईलाई अब सबै खेल जित्नै पर्ने दबाब रहेको छ भने विश्वकप छनौटमा सिधै खेल्न नेपाललाई सबै खेल जित्न आवश्यक छ ।
एकदिवसीय मान्यता जोगाउन नेपालले भने अब केवल एक खेल जिते पुग्ने छ ।

