सपथ नखाँदै राष्ट्रपतिको दौडधुप

काठमाडौं, २७ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज पनि दौडधुपमा छन् । दिउँसो १ बजे पुष्पलाल पार्क चम्पादेवी जाने पौडेल २ बजे कृष्ण प्रसाद भट्टराई आश्रम बोडेगाउ जाने भएका छन् ।
पौडेलले हिजो पशुपतिनाथ र गुहेश्वरीको दर्शन गरेका थिए । करिब डेढ घन्टाको दर्शनपछि उनी सुन्दरीजल स्थित वीपी संग्रहालय पुगेर वीपीको शालिकमा पुष्पगुच्छा अर्पण गरेका थिए ।
श्रीमती र छोरा सहित मन्दिर दर्शन र आश्रम निस्कने गरेका राष्ट्रपति पौडेलसँग उनको पुर्व पार्टी नेपाली काङ्ग्रेसका केही उनीनिकट नेताहरू समेत पछि लाग्ने गरेका छन् ।
निर्वाचन अगाडी ‘गणतन्त्रको राष्ट्रपति कस्तो हुन्छ म देखाउछु’ भन्दै सरल र सभ्य बन्ने प्रण गरेका पौडेलको सवारीले सडकमा सास्ती उस्तै देखिन थालेको छ ।
यसअघि पुर्व राजा र राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणमा जनताले दु:ख पाएको बारे गुनासो आइरहदा पौडेलले आफू निर्वाचित भए त्यस्तो नहुने वचन दिएका थिए ।
राष्ट्रपति पौडेलको भ्रमण सामान्य होस भन्ने चाहना राख्ने नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले समेत भड्किलो सवारी र सर्वसाधारणलाई सास्ती हुनेगरी राष्ट्रपतिको सवारी नहोस् भन्ने चाहेको बताएका छन् ।

