सुन्दरीजल पुगेर राष्ट्रपति पौडेलले भने- संविधानको रक्षा गर्नु सबैको दायित्व

तस्वीर सौजन्य: परशुराम पोखरेल, अध्यक्ष वीपी संग्रहालय

काठमाडौं, २६ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेको अवस्थामा सबै राजनीतिक दलहरु सुझबुझ सहित संविधानको मर्म र भावना अनुसार अगाडी बढ्नुपर्नेमा जोड दिएका छन्।

राष्ट्रपति निर्वाचित भएको भोलिपल्ट काठमाडौंको गोकर्णेश्वरस्थित सुन्दरीजल वीपी संग्रहालयमा पुगेर राष्ट्रपति पौडेलले उक्त कुरा बताएका हुन् । संविधानको रक्षा गर्ने दायित्व सबैको भएको भन्दै राष्ट्रपति पौडेलले देश, जनता र राजनीतिक दललाई आफुले कुशल अविभावक बनेर संरक्षण गर्ने समेत बताए।

उनले वीपी कोईरालासँगको आफ्नो राजनीतिक यात्राको स्मरण गर्दै वीपीबाट सिक्नुपर्ने धेरै कुरा अझै बाँकी रहेको पनि बताए । ‘म राजनीतिक व्यक्ति मात्र होईन, लामो प्रजातान्त्रिक आन्दोलनको धेरैथरी अनुभव सङ्गालेको व्यक्ति पनि हूँ’, उनले भने- ‘कहाँ कसरी जिम्मेवारी वहन गर्नुपर्छ र कसलाई कस्तो सम्मान दिनुपर्छ भन्ने राम्रोसँग थाहा छ। मलाई सबैले जिताउनुको अर्थ पनि त्यही हो। मैले राजनीतिमा जति ज्ञान हासिल गरेको छु सबै ज्ञान र अनुभव संविधान रक्षाकै निम्ति खर्चने छु।’

राष्ट्रपति पौडेलले आफु साधारण किसान परिवारको छोरा समेत भएकोले संबिधानको मर्म र भावनासँगै सबैको रक्षक बन्ने कुरामा दृढ रहेको पनि बताए । ‘म गाउँको किसानको छोरा हुँ ।राजनीति पनि बुझेको छु र संबिधानको रक्षा गर्न र कसलाई कस्तो सम्मान गर्नुपर्दछ भन्ने पनि जान्दछु’ उनले भने-‘कसैको चित्त नदुख्ने गरी र भावनामा ठेस नपुग्नेगरी देश,जनता र राजनीतिक दलप्रति म समान व्यवहार गर्न प्रतिबद्ध छु।’

वीपी संग्रहालयको आगन्तुक पुस्तिकामा हस्ताक्षरपछी वीपीको शालिकमा पुष्पगुच्छा चढाएका पौडेलले संग्रहालय परिसरमा ‘जकाराण्डा’को विरुवा समेत रोपेका छन्। यो ठुलो रुख हुने र पहेँलो फुल्ने विरुवा हो।‘राष्ट्रपतिज्युले विरुवा रोप्दै संग्रहालयको पनि प्रशंसा गर्नुभयो’ संग्रहालयका संस्थापक अध्यक्ष परशुराम पोखरेलले भने-‘उहाँ अगाडी पनि यहाँ आएर धेरै बिचार विमर्श गर्नुहुन्थ्यो।आज पनि यहाँको कामको प्रशंसा र अनुभव समेत बाँडेर जानुभयो।’

पौडेलसँगै उनकी धर्मपत्नी र छोरा पनि साथमै रहेका थिए। राष्ट्रपति पौडेलसँग कुनैपनि दलका नेता सहभागि थिएनन्। सोही क्षेत्रका प्रदेश सांसद विमल ठकुरी भने कार्यक्रमा देखिएका थिए।

सो अवसरमा राष्ट्रपति पौडेलले संग्रहालयका संस्थापक अध्यक्ष पोखरेललाई वीपी संग्रहालयको मर्मत र व्यवस्थापनमा उत्कृष्ठ कार्य गरेको भन्दै प्रशंसा समेत गरेका थिए।‘उहाँ वीपी संग्रहालय आईराख्ने भएकोले यहाँको सबैकुरामा जानकार हुनुहुन्थ्यो’ अध्यक्ष पोखरेलले भने-‘राष्ट्रपति निर्वाचित भएपछी नै पहिलो भ्रमण वीपी संग्रहालयबाट गर्नु र प्रेरणादायी कुरा भन्नुले म आभारी छु।’

यसैगरी आजै राष्ट्रपति पौडेलले विहान पशुपतिनाथ र गुह्ेश्वरी पुगेर पूजा गरेका थिए । पौडेल पशुपति पुग्दा त्यहाँका पुजारी र कर्मचारीले स्वागत गरेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...