आगलागीमा घाइते भएका सांसद भण्डारीको स्वास्थमा सुधार

काठमाडौं, २४ फागुन । घरकै ग्याँस सिलिण्डर लिक भएर आगलागी हुँदा घाइते भएका नेपाली कांगेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
सर्जरी र घाउको ड्रेसिङ समेत गराइसकेको भण्डारीको शरीरका सबै इन्डिकेटर सामान्य रहेको चिकित्सकले बताएको भन्दै उनका आफन्तले जानकारी दिएका छन् । उनी सामान्य कुराकानी गर्न सक्ने अवस्थामा छन् ।
भारतको मुम्बई स्थित नेशनल बर्न सेन्टरमा उपचारात भण्डारीको उपचारमा संलग्न डाक्टरहरुका अनुसार भण्डारीलाई केही समयपछि साधारण वार्डमा राखेर उपचार गर्न सम्भव हुनेछ। तर, इन्फेक्सन नहोस् भनेर भेटघाटमा जाने कसैलाई पनि भेट्न दिइएको छैन ।
फागुन ३ गते शंखमुलस्थित निवासमा ग्याँस लिक हुदाँ आगलागीमा परेर भण्डारी घाईते भएका थिए । उनीसँगै घाइते भएकी ८६ वर्षिया आमाको भने भोलिपल्टै मृत्यु भएको थियो ।
गम्भीर घाइते भएका भण्डारीलाई किर्तीपुरमा उपचार हुन नसकेपछि एयर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो ।

