बैंक र लघुवित्तविरुद्ध दुर्गा प्रसाईंको महाअभियान

काठमाडौं, २० फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह र राजपरिवारका सदस्यलाई समेत संघीयता खारेजीको अभियानमा लाग्न आह्वान गर्दै व्यापारी दुर्गा प्रसाईँले आज काठमाडौमा महाअभियान सुरु गर्दै शक्ति प्रदर्शन गर्ने भएका छन् ।

उनको यो नयाँ आन्दोलनले बैंक तथा लघुवित्त पीडितको माग समेत उठाउँदै आएको छ । व्यवसायी प्रेम आचार्यले आत्मदाह गरेको काठमाडौ बानेश्वरबाट प्रसाइले अभियानको थालनी गर्ने भएका छन् । उनको अभियानमा राप्रपा नेपालका अध्यक्ष कमल थापाको समेत समर्थन छ।

झापाको मेची पुलबाट फागुन १ गते सुरु गरेको यो अभियान देश भर चलाउने प्रसाईं बताउछन् । व्यवसायी प्रसाईंले ११ बुँदे मागसहितको आन्दोलन घोषणा गरेको जानकारी पनि दिएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानको नाममा प्रसाईँले आन्दोलनको घोषणा गरेको विज्ञप्तिमा जनाएका छन् ।

उनले पुनः प्रजातन्त्र प्राप्तिका लागि आम नेपाली जनसमुदायलाई माया गर्दै पूर्वराजालगायत राजपरिवारका सदस्यलाई नागरिकको हैसियतमा यो आन्दोलनमा सहभागी हुन नेपालको संविधानले कुनै अवरोध नगर्ने समेत बताए । विज्ञप्तिमा महाअभियानले संघीयता खारेज गर्नुपर्ने, हिन्दुराष्ट्र कायम गर्नुपर्ने, २०४७ को संविधान लागु गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रियकरण गर्नुपर्ने माग गरिएको छ ।

यस्तै २० लाख भन्दा माथिको ऋण ४ देखि ५ प्रतिशत ब्याजदरमा दिनुपर्ने, ऋणलाई पुनर्संरचना गरी १५ वर्षसम्ममा किस्तामा बैंकको ऋण तिर्ने वातावरण बनाउनुपर्ने, सरकारको मातहतमा रहेका संघ संस्थाहरुको पुँजी बैंकमा राख्दा शून्य प्रतिशत ब्याजमा राखिनुपर्ने, निजामती कर्मचारीको तलब सुविधा १ लाख ५० हजार हुने ग्यारेन्टी गर्नुपर्ने, सर्वोच्चमा एक सय जना न्यायाधीश थप गरेर सबै मुद्दाको छिनोफानो २ वर्षभित्र गर्नुपर्ने जस्ता माग पनि गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय