दीपेशको सनसनीपूर्ण ह्याट्रिक, जसले नेपाललाई विश्वकपमा पुर्यायो

काठमाडौं, १९ फागुन । बिहिबार युएईमा नेपालका दुई क्रिकेट टोलीले युएईसँग प्रतिस्पर्धा गर्दै थिए । सिनियर टोलीले आइसिसी विश्व क्रिकेट लिग २ मा खेल्दै थिए भने यु-१९ टोलीले विश्वकपको छनौट ।
यु१९ टोलीका लागि हिजोकै खेल एकदम महत्वपूर्ण थियो किनभने यस खेल जितेमा नेपाल २०२४ मा श्रीलंकामा हुने १९ वर्षमूनिको विश्वकप क्रिकेटमा छनौट हुने थियो ।
खेलमा नेपालले पहिले ब्याटिङ गरेर १९१ रन बनाएको थियो । १९२ रनको लक्ष्य पछ्याएको युएईले उत्कृष्ट सुरुवात गरेको थियो । खेलको मध्यअवस्थामा आइपुग्दा युएईलाई जीतका लागि करिब १०० रन आवश्यक थियो र ७ विकेट बाँकी थिए ।
त्यसपछि रोमाञ्चक बन्दै गएको खेलमा युएईले नै लगभग जित्ने अवस्था आइसकेको थियो । अन्तिम ३ ओभरमा युएईलाई जीतका लागि केवल ११ रन चाहिएको थियो र ३ विकेट बाँकी थिए ।
४८औं ओभरमा बलिङमा आए दिपेश कँडेल जसले खेलमा २ विकेट लिइसकेका थिए । पहिलो बलमा १ रन दिएका उनले दोस्रो बल डट राखे । तेस्रो बलमा दुई रन खर्चिए ।
चौथो बलमा हर्षित सेठलाई बोल्ड गर्दै उनले नेपाललाई खेलमा पुनः फर्काए । पाँचौं बलमा दीपेशले हरित हर्ष सेठ्ठीलाई देव खनालको हातबाट क्याचआउट गराए ।
अब नेपाल जीतबाट केवल एक विकेट टाढा थियो । ओभरको अन्तिम बलमा दीपेशले मोनिस गजेशलाई बोल्ड गर्दै आफ्नो ह्याट्रिक त पूरा गरे नै, त्योभन्दा पनि महत्वपूर्ण उनले नेपाललाई आठ वर्षपछि विश्वकपमा स्थान दिलाए ।
नेपालले युएईलाई ७ रनले हराउँदै आगामी वर्ष श्रीलंकामा हुने आइसिसी यु-१९ विश्वकपमा छनौट भयो । यसअघि नेपालको यात्रामा युएई नै बाधक बन्ने गरेको थियो । यसपटक भने नेपालको भाग्य बदलियो र विश्वकपमा छनौट भयो ।
यु१९ टोलीले जीत हात पार्दा सिनियर टोलीले भने युएईसँग ६८ रनको फराकिलो हार व्यहोरेको छ ।

