विश्वकप लिग २: पिएनजीमाथि नेपालको जीत

काठमाडौं, १५ फागुन । आईसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएई, नेपाल र पपुवा न्युगिनी (पिएनजी) सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले पिएनजीलाई हराएको छ ।
सोमबार भएको खेलमा नेपालले पिएनजीलाई ४ विकेटले हराएको हो । पिएनजीले दिएको २०४ रनको लक्ष्य नेपालले २८ बल बाँकी छँदै ६ विकेटको क्षतिमा भेट्टायो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए भने आसिफ शेखले ४४ रन बनाए । त्यसैगरी आरिफ शेखले ३३, दीपेन्द्रसिंह ऐरीले २२ तथा कप्तान रोहित पौडेलले २० रन बनाए ।
पिएनजीका लागि कप्तान असाद भालाले १० ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए भने नर्मन भानुआ र सेसे बाउले १-१ विकेट लिए । एक विकेट भने रनआउटको रुपमा थियो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०३ रन बनाएको थियो । उसका लागि कप्तान भाला र चाड सोपरले समान ३६ रन बनाउँदा सेसे बाउले ३१, किप्लिन डोरिगाले २९ तथा नर्मन भानुआले २५ रन बनाएका थिए ।
नेपालका लागि गुल्शन झाले ९ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए भने कुशल मल्लले २ तथा करण केसी, सोमपाल कामी र प्रतिश जिसीले १-१ विकेट लिए ।
नेपालले अब आफ्नो दोस्रो खेलमा बिहिबार युएईसँग खेल्ने छ । उक्त खेलका लागि सन्दीप लामिछानेलाई पनि युएई पठाउने तयारी भइरहेको छ ।

