महिला टी२० विश्वकपको उपाधि अस्ट्रेलियाले छैटौंपटक जित्यो
दक्षिण अफ्रिकालाई हराउँदै लगातार तेस्रो उपाधि
काठमाडौं, १४ फागुन । आइसिसी महिला टी२० विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । आइतबार सम्पन्न फाइनलमा दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै अस्ट्रेलियाले छैटौंपटक उपाधि जितेको हो ।
दक्षिण अफ्रिकाको केप टाउनमा भएको फाइनलमा अस्ट्रेलियाले दिएको १५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकी महिला टोलीले पूरा २० ओभर खेलेर ६ विकेट गुमाउँदै १३७ रन मात्र बनाउन सक्यो ।
ओपनर लाउरा वोलभार्टले ६१ रनको योगदान दिएपनि टोलीको जीतका लागि पर्याप्त हुन सकेन । त्यसैगरी क्लो ट्रायनले २५ रन बनाइन् । अस्ट्रेलियाकी मेगान सट, एस्ले गार्डनर, डार्सी ब्राउन र जेस जोनासेनले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । बेथ मूनीले अविजित ७४ रनको पारी खेलिन् भने एस्ले गार्डनरले २९ रन बनाएकी थिइन् ।
दक्षिण अफ्रिकाका लागि शबनम इस्माइल र मेरिजेन कापले २-२ विकेट लिँदा ननकुलुलेको लाबा र क्लो ट्रायनले १-१ विकेट लिइन् । पहिलोपटक विश्वकपको फाइनलमा पुगेको अफ्रिकी महिला टोलीले पहिलो उपाधि भने जित्न सकेनन् ।
यता अस्ट्रेलियाले भने लगातार तेस्रोपटक तथा समग्रमा छैटौंपटक उपाधि जित्न सफल भयो ।

