युृएई जाने टोलीमा सन्दीप परेनन्

काठमाडौं, १२ फागुन । स्टार लेग स्पिनर सन्दीप लामिछाने आइसिसी विश्वकप लिग २ अन्तर्गत युएईमा हुने श्रृंखला खेल्न नजाने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको १५ सदस्य टोलीमा सन्दीप नपरेका हुन् ।
उनीमाथि नाबालिग बलात्कारको आरोप लागेको थियो र मुद्दा विचाराधीन अवस्थामै छ । धरौटीमा रिहा भएका उनी देशबाहिर जान नपाउने कानुनी बाधाका कारण युएई नजाने भएका हुन् ।
केही दिनअघि मात्र काठमाडौंमै सम्पन्न नेपाल, नामिबिया र स्कटल्यान्डसँगको त्रिकोणात्मक श्रृंखलामा भने सन्दीपले खेलेका थिए र ४ खेलमा १३ विकेट लिएका थिए ।
सन्दीप र सूर्य तामाङ स्क्वाडबाट बाहिरिँदा टोलीमा प्रतिश जिसी र मौसम ढकालले मौका पाएका छन् भने आरिफ शेख पनि फर्किएका छन् ।
नेपालले २७ फेब्रुअरीमा पपुवा न्युगिनी, मार्च २ मा युएई, मार्च ३ मा पपुवा न्युगिनी र मार्च ६ मा युएईसँग खेल्नेछ ।
यस्तो छ नेपालको टोली:
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, श्याम ढकाल (मौसम), गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी

