राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको महाधिवेशन भोलिदेखि धादिङमा

काठमाडौं, ११ फागुन । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन शुक्रबारदेखि धादिङमा हुँदै छ । प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आठौं महाधिवेशन एवं २२औं साधारणसभा धादिङ सदरमुकाम धादिङवेशीमा हुने जानकारी गराएको थियो ।
प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले प्रतिष्ठानको विकास र व्यवस्थापनमा धेरै योजना भएपनि कोरोना महामारीको कारण कार्यकालमा सोचेझैं काम गर्न नसकिएको बताए ।
कलाकर्मीहरुलाई कोरोना महामारीको कहर एकदमै कष्टकर भएको उनले बताए । सबै फूलहरुलाई फूलाउँछु भनेर बार लगाएपनि त्यस्तो सम्भव नभएको उनले बताए । तत्कालीन समयमा कोभिडको समयमा कलाकारलाई रोग र भोकबाट बचाउन आफूहरु लागिपरेको उनले स्मरण गराए । उनले आफूले पाएको समय भरपूर सदूपयोग गर्ने कोशिस गरेको बताए ।
उनले आफूले कतिपय काम प्रचारमा ल्याउन नचाहेर केही काम गर्न नसकेको भन्ने आरोप आफूलाई लाग्ने गरेको पनि बताए । आफूले प्रतिष्ठानको जिम्मेवारीमा रहेर पाएको समयलाई भरपुर सदुपयोग र निष्पक्ष ढंगबाट कार्यसम्पादन गर्ने कोशिस गरेको उनले बताए ।
‘प्रतिष्ठानकोे अध्यक्षका हैसियतले इमानदारिताका साथ म आफ्नो कार्यकालको उत्तरार्धमा आइपुगेको छु । यो कार्यकाल सफल गर्नकालागि मलाई पूर्व अध्यक्षज्यूहरुको विश्वास, सहयोग र साथले मलाई बढी हौसला दियो,’ उनले भने ।
कोभिडको बेलामा प्रतिष्ठानलाई देश विदेशबाट प्राप्त भएको सहयोगका लागि पनि उनले विशेष धन्यवाद दिए । यसपटकको महाधिवेशनको जिम्मा लिएर महाधिवेशनस्थलको रुपमा धादिङ जिल्लालाई छानेको उनले बताए । धादिङ कला र संस्कृतिको उर्वर भूमि भएकाले पनि यसपटकको महाधिवेशन धादिङवेशीमा गर्न लागिएको उनले स्पष्ट पारे ।
कार्यक्रमको जिम्मा केन्द्रीय सदस्य अमृत अधिकारी र राजकुमार रायमाझीलाई दिइएको उनले बताए । साथै, जिम्मेवारी पाएका व्यक्तिहरुले गरेको निमन्त्रणा स्विकारेर कार्यक्रममा उपस्थित भइदिन पनि उनले सबैलाई आग्रह गरे ।
आठौं महाधिवेशनमा चर्चित गायक पशुपति शर्माले पनि चाहना राखेको बताइएको छ । आफूहरुले सर्वसम्मतबाट नेतृत्वको चयन गर्न खोजिरहेको र सर्वसम्मत् नेतृत्व चयन हुँदैगर्दा वर्तमान वरिष्ठ उपाध्यक्ष रीता थापालाई प्रतिष्ठानले अघि सार्ने अध्यक्ष बिजीले बताए । सकेसम्म सबै पदाधिकारीको नेतृत्व चयनमा सर्वसम्मत प्रकृया अवलम्बन गरिने उनले बताए ।
आठौं महाधिवेशनको मुख्य अतिथिमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलको उपस्थिति रहने बताइएको छ । महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, ६ प्रदेशस्तरीय समिति, आजीवन सदस्यहरु, मानार्थ सदस्यहरु र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी एक हजार जनाभन्दा बढीको उपस्थिति रहने बताइएको छ ।

