विश्‍वकप लिग २ मा नेपालको लगातार तेस्रो जीत

आसिफ, ज्ञानेन्द्र र कुशल मल्लको अर्धशतक

काठमाडौं, ६ फागुन । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखलामा नेपालले लगातार तेस्रो जीत निकालेको छ । शनिबार भएको खेलमा नेपालले नामिबियालाई ३ विकेटले हराएको हो ।

नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले १५ बल बाँकी छँदै ८ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ८१ रन बनाए भने ज्ञानेन्द्र मल्लले ६५ र कुशल मल्लले ६२ रन बनाए । नामिबियाका रुबेन ट्रम्पलमेनले ३, बर्नार्ड स्कोल्जले २ विकेट लिए भने पिक्की या फ्रान्स र ताङ्गेनी लूङ्गामेनीले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनाइ नेपाललाई २७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उसका लागि जेन ग्रीनले ६३ बलमा अविजित रहँदै ७५ रनको पारी खेले भने पिक्की या फ्रान्सले ४९ तथा लोहान लरेन्सले ४१ रन बनाए ।

नामिबिया १३८-५ को अवस्थामा रहेका बेला ग्रीन र फ्रान्स मिलेर इनिङ उकासेका थिए । नेपालले डेथ ओभरमा खराब बलिङ गर्यो । नामिबिया ४० ओभरमा १५८-५ को अवस्थामा थियो । अन्तिम १० ओभरमा ११६ रन खर्चेको नेपालले तीमध्ये ८४ रन अन्तिम ५ ओभरमा व्यहोरेको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए भने करण केसीले १ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय