पशुपतिनाथमा झन्डै पाँच लाखले गरे दर्शन

काठमाडौं, ६ फागुन । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दिउँसो १२ बजेसम्म करिब ५ लाख भक्तजनले दर्शन गरेका छन् ।
आज पशुपतिनाथका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको थियो । ढोका खोल्नुअघिदेखि नै पशुपति क्षेत्रमा भक्तजनको लाम सुरू भएको थियो ।
बिहान छोटो लाम भए पनि अहिले लाइन बढ्न थालेको छ। उत्तरतर्फको लाम चाबहिल चोकभन्दा माथि पुगेको छ भने पश्चिमतिरको लाम गौशाला चोक, दक्षिणतिरको लाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक र पूर्वतर्फको लाम गौरीघाटसम्म पुगेको छ।
घाम लागेसँगै दर्शनार्थीको संख्या बढ्न थालेको हो । यो संख्या बढ्ने क्रम साँझसम्म नै जारी रहने जनाइएको छ ।

