डेथ ओभरमा नेपालको खराब बलिङ, नामिबियाद्वारा २७५ रनको लक्ष्य प्रस्तुत

फाइल

काठमाडौं, ६ फागुन । आईसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले नामिबियासँग खेलिरहेको छ ।

काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले नेपाललाई बलियो लक्ष्य प्रस्तुत गरेको छ । नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनाइ नेपाललाई २७५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

उसका लागि जेन ग्रीनले ६३ बलमा अविजित रहँदै ७५ रनको पारी खेले भने पिक्की या फ्रान्सले ४९ तथा लोहान लरेन्सले ४१ रन बनाए । नामिबिया १३८-५ को अवस्थामा रहेका बेला ग्रीन र फ्रान्स मिलेर इनिङ उकासेका थिए ।

नेपालले डेथ ओभरमा खराब बलिङ गर्यो । नामिबिया ४० ओभरमा १५८-५ को अवस्थामा थियो । अन्तिम १० ओभरमा ११६ रन खर्चेको नेपालले तीमध्ये ८४ रन अन्तिम ५ ओभरमा व्यहोरेको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए भने करण केसीले १ विकेट लिए ।

नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय