आज महाशिवरात्री, पशुपतिलगायत देशभरका शिवालयहरुमा विहानैदेखि घुँइचो

काठमाडौं, ६ फागुन । फागुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदै छ । शिवरात्रीको दिन विहानैदेखि काठमाडौंको पशुपतिलगायत देशभरका शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ ।

पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यी मध्ये पनि फागुन कृष्ण त्रयोदशीमा मनाइने शिवरात्रिको विशेष महत्व रहेको मानिन्छ । भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास रही रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । यस दिन भगवान शिवलाई जाडो हुने जनविश्वासका कारण प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन छ ।

यसवर्ष पशुपतिनाथमा शिवरात्री मेलामा कम्तीमा पनि २० लाखभन्दा बढी दर्शनार्थी आउने अनुमान गरिएको र शान्ति सुरक्षा पनि बलियो बनाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

आज विहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार वटै ढोका खोलिएका छन् भने महाशिवरात्री मेलालाई मध्यनजर गर्दै नेपाल प्रहरीले पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय