लिस्कको शतकमा स्कटल्यान्डले नेपाललाई दियो चुनौतिपूर्ण लक्ष्य

काठमाडौं, ५ फागुन । आईसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डसँग खेलिरहेको छ ।
काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले नेपाललाई चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७४ रन बनाइ नेपाललाई २७५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
उसका लागि माइकल लिस्कले शतकीय पारी खेले । उनले ८५ बलमा ३ चौका र ९ छक्कासहित अविजित १०७ रन बनाए । टोली १११-६ को कठिन परिस्थितिमा हुँदा ब्याटिङमा आएका उनले ज्याक जार्भिस र मार्क वाटसँग मिलेर इनिङ उकासेका थिए ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए भने कुशल मल्लले ९ ओभरमा ४९ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको नाममा १-१ विकेट रह्यो ।
नेपाल अहिले केहीबेरमा जवाफी ब्याटिङमा उत्रिने छ ।

