नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा देसाई नियुक्त
एकदिवसीय मान्यता जोगाइराख्न प्रयास गर्छु
काठमाडौं, २३ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त भएका छन् । केही दिनअघि नै नेपाल आएर प्रशिक्षण सुरु गरिसकेका उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सोमबार मात्र नियुक्तिको लागि अनुमति दिएको हो ।
देसाई विश्व क्रिकेटका उत्कृष्ट ब्याटिङ प्रशिक्षक मानिँदै आएका छन् । पछिल्लो तीन वर्ष वेस्टइन्डिजमा ब्याटिङ प्रशिक्षकको रुपमा रहेका देसाईले डिसेम्बर महिनादेखि वेस्टइन्डिज छाडेका थिए ।
माघ १४ मा नै नेपाल आइपुगेका उनले भोलिपल्टदेखि नै प्रशिक्षण सुरु गरेका थिए । अर्को हप्ता त्रिवि क्रिकेट मैदानमा हुने नामिबिया र स्कटल्यान्डसँगको घरेलु श्रृंखलामार्फत देसाईले प्रशिक्षणमा डेब्यु गर्ने छन् ।
देसाईले नेपालको एकदिवसीय मान्यता सकेसम्म जोगाइराख्न प्रयास गर्ने बताएका छन् ।

