रास्वपाले तत्काल सरकार नछाड्ने, निर्णय लिन प्रमलाई दुई दिनको समय

काठमाडौं, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा तत्कालका लागि सरकारबाट नबाहिरिने भएको छ । बिहिबार पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेर केही दिन पर्खने निर्णय गरेको हो ।
गृह मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको रास्वपालाई प्रधानमन्त्री प्रचण्ड मन्त्रालय दिन तयार नभएपछि रास्वपा रुष्टिँदै गएको थियो ।
सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई भेटेर गृह मन्त्रालय दिन आग्रह गरिरहेका थिए । यसबीचमा आज बैठक बसेर सरकारबाट बाहिरिने वा नबाहिरिने भन्ने छलफलका क्रममा प्रधानमन्त्रीबाट २ दिनको समय माग भएको र दुई दिनको समय दिने निर्णय गरिएको प्रवक्ता मुकुल ढकालले जनाए ।
यसबीचमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पनि बस्ने छ र आवश्यक छलफल गरिने जनाइएको छ ।

