मेटलाइफको नयाँ बीमा योजना सार्वजनिक

काठमाडौं, १८ माघ । विश्वको अग्रणी जीवन बीमा कम्पनी मेटलाइफले नेपालमा ‘मध्यावधि वृद्धि बीमा योजना’ नामको नयाँ बीमा योजना सार्वजनिक गरेको छ ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मेटलाइफले आफ्ना ग्राहकहरूका लागि मध्यावधि लाभहरू सहितको नयाँ बीमा योजना (एन्टिसिपेटेट् एन्डोमेन्ट जीवन बीमा योजना) सुरु गरेको जनाएको छ ।
मेटलाइफ नेपालका उपाध्यक्ष एवं महाप्रबन्धक निर्मल काजी श्रेष्ठ, एशिया वितरण प्रमुख यङ हो हान र एशिया एजेन्सी डाइरेक्टर मारवान माटरको उपस्थितिमा सो योजना सार्वजनिक गरिएको थियो ।
नेपालमा रहेका कम्पनी मध्य यो खालको बिमा योजना ल्याउने मेटलाइफ पहिलो हो । यस योजना अन्तर्गत, बीमितले बीमालेखको मध्यावधिमा पुगेपछि बीमाङ्क रकमको ४० प्रतिशत रकम प्राप्त गर्नेछन्, अर्थात् उनीहरूले आग्रिम रुपमा इन्डोमेन्ट लाभ रकम प्राप्त गर्न पाउनेछन् र यसै अवधिमा बीमितको मृत्यु भएको अवस्थामा बीमाङ्क रकम बराबर शतप्रतिशत रकम इच्छाइएको व्यक्तिले प्राप्त गर्दछन् ।
यस योजनाको मध्यावधि पछि बीमितको मृत्यु भएको अवस्थामा पनि इच्छाइएको व्यतिले बीमाङ्क रकमको दोब्बर रकम प्राप्त गर्नेछन् । कम्पनीका अनुसार बीमा योजनाको अवधि १२, १४, १६, १८, २०, र २२ वर्ष हुनेछ ।
यसमा न्यूनतम जारी उमेर ३१ दिनदेखी अधिकतम ६० वर्ष सम्मको ब्यक्तिले बिमा गर्न सक्ने प्रावधान रहेको छ ।

